धरान । चीन र भारत जोड्ने अन्तरदेशीय सडक सञ्जाल ताप्लेजु्ङ ओलाङ्गचुङ्गगोला सडकको ट्रयाक खुल्न बाँकी १२ सय मिटरको काम आगामी श्रावण अन्तिम साताबाट शुरु हुने भएको छ ।
ताप्लेजुङ जिल्लाको चीनसँग सीमा जोडिएको फक्तालुङ गाउँपालिकाको सुकेपानीमा विविध कारणले सडकको ट्रयाक खोल्ने काम केही महिनादेखि रोकिएको थियो । अब भने चाँडै ट्रयाक खोल्ने कामले गति लिन्छ, ओलाङचुङगोला सडक आयोजनाका प्रमुख इन्जिनियर अमिन्द्र खड्काले बताउनुभयो ।

धनकुटाको मुलघाट लावरबोटेदेखि पाँचथरको सुभाङ्ग खोलासम्मको ९५ किमी तमोर करिडोर सडक आयोजनाले हेर्दै आएको छ भने सुभाङ्ग खोलादेखि चीनको सीमा टिप्तला भन्ज्याङ्गसम्मको १२१ किमी सडक ओलाङचुङगोला सडक आयोजनाले हेर्दै आएको खड्काले जानकारी दिनुभयो । ओलाङ्गचुङ्गगोलाबाट टिप्तला भन्ज्याङ्गको दूरी ८५ किमी रहेको छ । सुकेपानी अत्यन्तै कडा चट्टाने भीर हुनुका साथै कञ्चनजंघा आरक्षण केन्द्रभित्र पर्ने भएकोले आरक्षणले ६ महिना अगाडि ट्रयाक खोल्न रोक लगाएको थियो । ट्रयाक खोल्दा ३१ हेक्टर जमिनको ६२७ वटा रुखहरु समेत कटान गर्नुपर्ने हुन्छ । आरक्षण व्यवस्थापन समितिले आरक्षणभित्र पर्ने ३१ हेक्टर जग्गा खरिद गरेर त्यति नै संख्यामा बृक्षारोपण गरेर दिनुपर्ने शर्त अगाडि सारेपछि ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेको थिएन । ट्रयाक खोल्ने काम रोकिएपछि नेपाल सरकार मन्त्रिपरिषद्ले चैत्र १३ गते ट्रयाक खोल्न दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय ढिलो पठाउँदा कञ्चनजंघा वन्यजन्तु आरक्षण क्षेत्र र ओलाङचुङगोला सडक आयोजना बीचमा कुनै सहमति हुन सकेको थिएन । अब चाँडै नै ट्रयाक खोल्ने सहमति हुन्छ इन्जिनियर खड्काले भन्नुभयो ।
तमोर करिडोरबाट सुभाङ्गखोलासम्म बनाउनुपर्ने १० वटा पुलको निर्माण ठेक्का भइसकेको छ भने सुभाङ्गदेखि ओलाङ्गचुङ्गगोलासम्म दोभानको पुलमात्र बनेको छ । उक्त सडकमा ४ वटा ठूला पुल र १० वटा २५ मिटरको साना पुल बनाउनुपर्ने हुन्छ । तर हालसम्म कुनै पुलको ठेक्का सम्झौता भएको छैन । खोलिएको सडकको ट्रयाकको चौडाई ११ मिटर भएपनि कही ७ मिटर कही ५ मिटर मात्र खनिएको छ । ताप्लेजुङ सदरमुकामबाट झापाको चारआली सम्मको दूरी २३० किमी रहेको छ । तर तमोर करिडोरबाट लिम्बुनी पुल हुँदै कावेली निस्केर फेरि मेची राजमार्ग हुँदै ताप्लेजुङ्ग पुग्न इटहरीबाट १९० किमी मात्र पर्छ । इन्जिनियर खड्काले भन्नुभयो ओलाङ्गचुङ्गगोला सडकको काम चार प्याकेजमा भइरहेको छ । सुभाङ्गखोलादेखि लिम्बुनी पुलसम्म २० किमी ग्राभेल स्तर गर्ने गरी सुवर्ण रायमाझी जेभि, लिम्बुनी पुलदेखि दगुर्ने खोलासम्मको २० किमी हिन्दु माइन थोपर लामा जेभी, दगुर्ने खोलादेखि थिवासम्मको १६.५ किमी कुमार जेभिले काम गरिरहेका छन् भने थिवा खोलादेखि रानी पुलसम्मको १३ किमी ठेक्का लागेको छैन । रानी पुलदेखि टिप्तला भन्ज्याङ्गसम्मको ट्रयाक खोल्ने र ग्राभेल स्तर गर्ने काम एसभिए लाइट जेभिले गर्दै आएको छ ।
इन्जियनियर खड्काले भन्नुभयो सुकेपानीमा ट्रयाक खोल्नका लागि विस्फोटक पदार्थ ल्याइसकेका छौं । विस्फोट सेनाले गर्छ कि सडक आयोजनाले गर्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो नेपाली सेनाको रोवहरणमा सडक विभाग आफैले विस्फोट गर्छ । दोभान बजारदेखि अगाडि मित्लुङ्ग, सिवा, थिवा, तापेथोक, लेलेप भएर ओलाङ्गचुङ्गगोला पुगिन्छ । टिप्तला भन्ज्याङ्गबाट ओलाङ्गचुङ्गगोलासम्मको सडकको ट्रयाक चीनले केही बर्ष अगाडि नै खोलिदिएको हो ।
