धरान । विराटनगरस्थित तत्कालीन विराट हस्पिटलका मालिक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफ्नो अस्पतालको लेटर प्याडमा ‘प्राध्यापक’ नियुक्ति दिएको आधारमा आफूलाई प्राध्यापक दाबी गर्दे बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त हुन सफल डा. ज्ञानेन्द्र गिरीको कार्यकालमा प्रतिष्ठान कमिशनखोर र बेथितिको चरम अवस्थामा पुगेको छ ।
आफ्नो नियुक्ति भएको दोस्रो दिनदेखि कोरोना अस्पताल व्यवस्थापनमा अनियमितताबाट शुरु भएको गिरीको अनियमिताको फेहरिस्त एउटा ग्रन्थकै रुप लिए पनि उनको अगाडि सरकार र नियमनकारी निकायहरु निरीह सावित भएका छन् । प्रतिष्ठानको संयन्त्रसँग अपरिचित गिरी उपकुलपति भएर आएको दोस्रो दिनदेखि भ्रष्टाचारमा संलग्न हुन उनको मात्र बुद्धिले भ्याउने कुरा हुँदैहैन र यसको लागि बर्षौदेखि प्रतिष्ठानमा लुट मच्चाएर बसेका गिरोहको साथ लिएको प्रष्ट हुन्छ । जबसम्म उक्त गिरोहको बोलवाला कायम रहन्छ, तबसम्म जो पदाधिकारी आएपनि बीपी प्रतिष्ठानको सुधार हुन नसक्ने एक प्राध्यापकले बताए । कर्मचारीको उक्त गिरोह स्थायी जस्तै छ । चिकित्सकहरुको हकमा शक्ति र समय अनुरुप पात्र परिवर्तन हुने गरेको देखिन्छ प्रतिष्ठानका पूर्व एक कासले जानकारी दिए ।
किर्ते प्राध्यापक उपकुलपतिको गिरोह
राहुल मिश्र : विराटनगरका महानन्द मिश्रका छोरा भएको नाताले तनत्कालीन अस्पताल निर्देशक डा. नारायणकुमारको आर्शिवादले इलेक्ट्रोनिक्स इन्जिनियरको रुपमा प्रतिष्ठानको सेवामा छिरेका मिश्र प्रतिष्ठानको अस्पतालको उपकरण खरिदमा उपकुलपतिसँग सेटिङ भएको व्यापारीको अनुकूल स्पेसिकेशन बनाएर कमिशन असुल्ने कार्यमा माहिर मानिन्छन् । पेशाले इलेक्ट्रोनिक्स इन्जिनियर भएपनि उपकुलपति गिरीले उनलाई पेशागत मर्यादा विपरीत बायोमेडिकल इन्जिनियरको जिम्मेवारी दिएर राखिएको र वायोमेडिकल इन्जिनियरलाई भने बेरोजगार बनाइएको प्रतिष्ठान स्रोतले बताएको छ । उपकुलपति गिरीका उपकरण खरिद सम्बन्धी प्राय ः सबै व्यापारिक डिलिङ्ग मिश्रले नै गर्ने र डिल मिलेपछि उपकरणको स्पेसिफिकेशन निजले नै बनाएर व्यापारीलाई अनुकूल वातावरण बनाउने गरेको प्रतिष्ठानका एक कर्मचारीले बताए । प्रतिष्ठानभित्र कर्मचारीको सरुवाको समेत चाबी लिएर बसेका मिश्रको आर्थिक हैसियतले पाएको उचाइसमेत प्रतिष्ठानको चर्चाको विषय बनेको छ ।
डा. जगत नारायण प्रसाद : प्रतिष्ठानको कोभिड अस्पतालमा खरिद अनियमितता, फार्मेसी औषधि खरिद अनियमितता, आइसियु उपकरण खरिद अनियमितता लगायत करिब ५० करोडको खरिद अनियमिततामा प्रत्यक्ष संलग्न भएका हालका डेपुटी निर्देशक डा. जगत नारायण बेहोसी विभागका एसोसिएट्स प्रोफेसरको रुपमा प्रतिष्ठानमा सेवा शुरु गरेको १० बर्ष पुगेको छ ।
सेवा प्रवेश गरी व्यवस्थापनमा हात मार्ने मौका खोजेर बसेका उनलाई डा. गिरीको नियुक्ति र कोरोना महामारीले चिठ्ठा पा¥यो । कोरोना अस्पताल व्यवस्थापन र फार्मेसी सञ्चालनको जिम्मा पाएका जगतले विगत दुई बर्षको अवधिमा करोडौ अपचलन गरेको प्रतिष्ठानमा चर्चाको विषय बनेको छ । डा. जगतको यही क्षमताको कदर गर्र्र्दै उपकुलपति गिरीले हाल उनलाई अर्को व्यवस्था नभएसम्म डेपुटी अस्पताल निर्देशकको जिम्मेवारी दिनुको साथै प्रतिष्ठानका नियमावलीसँग नमिल्ने तरिकाले एक पटकमा एक लाख सम्मको सामान किन्ने अधिकार समेत दिएका छन् । एक दिनमा एक लाखका दश वटा निर्णय जगतले गरे भने प्रत्येक महिना ३ करोड हाराहारीको टुक्रे खरिद उनले गर्न सक्ने र प्रतिष्ठानमा टुक्रे खरिदमा अत्याधिक अनियमितता हुने गरेको कर्मचारीहरु बताउँछन् । डा. जगत विरुद्ध प्रमाण सहित विभिन्न उजुरीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको अख्तियार स्रोतले जनाएको छ ।

