शैक्षिक, सामाजिक र प्रगतिशील धारमा समर्पित लेखनाथ घिमिरेको नागरिक अभिनन्दन हुँदै

इटहरी । शैक्षिक, सामाजिक र प्रगतिशील धारमा आजीवन समर्पित इटहरीका लेखनाथ घिमिरेको आगामी माघ ८ गते नागरिक अभिनन्दन हुने भएको छ ।
नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउनका लागि लेखक एवम् साहित्यकार अनिल पौड्यालको अध्यक्षतामा मूल समारोह समिति पनि बनाइएको छ । जसको उपाध्यक्षमा सामाजिक अभियन्ता गीता श्रेष्ठ, डा. रमेश घिमिरे, सचिवमा सागरप्रसाद भट्टराई, कोषाध्यक्षमा सुभद्रा प्याकुरेल रहनु भएको छ भने सदस्यहरुमा बोधराज नेपाल, मुकुन्द घिमिरे, निर्मल पौड्याल, गणेश दुलाल, राजु केसी, केशव खड्का, ज्ञानेन्द्र दाहाल, थानेश्वर ढकाल, मणि गुरुङ, अमर खड्का र टिका पौड्याल रहनु भएको छ । यसैगरी धरान क्षेत्रबाट समेत अभिनन्दनलाई सहयोग पुगोस् भन्ने हेतुले प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रा.डा. गोपाल भण्डारी लगायतको उपस्थितिमा प्रगतिशील प्राध्यापक संगठन प्रदेश नं. १ का संयोजक गोपीकृष्ण खतिवडाको संयोजकत्वमा ताप्लेजुङ, सुनसरी सरोकार समाजका महासचिव वासुदेव गौतम, नेपाल बुद्धिजीवि परिषद् सुनसरीका सचिव गिरिराज खतिवडा सदस्य रहनु भएको छ ।


लेखनाथ घिमिरेले धरानको पिण्डेश्वर विद्यापीठबाट २०२५ सालमा शास्त्री उत्तीर्ण गर्नुभएको थियो । वामपन्थी पृष्ठभूमिका घिमिरेको जन्मथलो ताप्लेजुङ हो । धनकुटाका गोपाल गुरागाईका समकालीन
रहनुभएका घिमिरे पिण्डेश्वर विद्यापीठबाट अध्ययन पूरा गरेपछि मोरङको मधुमल्ला गएर अध्यापन गराउनु भयो । उहाँले इटहरी, इनरुवा लगायतका स्थानमा समेत अध्यापन गराउनु भएको थियो । लेखनाथ घिमिरे शैक्षिक गतिविधिमा मात्र नभएर सामाजिक क्षेत्रमा उहाँले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नुभएको छ । साहित्यिक तर्फ घिमिरेको खासै ठूलो योगदान नभएपनि कविताका क्षेत्रमा उहाँले केही कविता लेख्नु भएको छ । प्रगतिशील लेखक सघमा आवद्ध घिमिरे इटहरीस्थित विश्व आदर्श विद्यालयको सञ्चालक समितिको अध्यक्ष, प्रिन्सिपल समेत रहनु भएको थियो । ७७ बर्षीय घिमिरेले इटहरीका विभिन्न प्रकारका धार्मिक, सामाजिक क्षेत्रमा उहाँ समर्पित रहनु भएको छ । उहाँलाई अत्यन्तै शालीन व्यक्तित्वका रुपमा चिनिने गरिन्छ ।

तपाईको प्रतिक्रिया