वया वात करता है
नेपालीहरुले नेताचाहिँ साँच्चैकै पाएका हुन् । थुतुनोले आकाश पाताल जोड्ने, लठ्यौरी श्रीमतिलाई जँड्याहा लोग्नेले मख्ख पारेझै नेपालका नेताहरुले सोझा नेपालीलाई कति ठग्न सक्या
होलान् ? अब हेरम न अस्तिका दिन वाल्वाटारे मुखियाका सबैभन्दा विश्वाससिला भान्से ज्ञावकाले भन्या नेपाल चाँडै दक्षिण एसियामा सवल अर्थतन्त्र भएको मुलुकको रुपमा
परिणत हुन्छ रे । मुलुक टाँट पल्टेर उत्तानो पर्न लाग्या बेला ज्ञावकाले बोल्या सुन्दा घण्टाघरलाई पनि खित्का छाडेर हाँस्न मन लाग्यो । हुन त नेपालमा नेता बन्नका लागि ढाँट्ने, झुक्याउने, गतिला गतिला भाषन ठोक्ने, अरुलाई छिर्के लगाएर अगाडि बढ्ने कलामा निपूर्ण हुनुपर्छ । ज्ञावका यस्ता कलामा निपुर्ण बन्दै गा’रैछन् । भोजपुरका जन्ताले लाठो लगाएर लघारेपछि सुनसरी आएर
शरण लिएका ज्ञावकाको चुरीफुरी हिजोआज ह्वात्तै बढ्या छ । केही समयपछि दक्षिण एसियामा नेपाल अर्थतन्त्रको हिसाबले उत्तानो पर्छ भन्नु पर्नेमा तिनले सवल हुन्छ पो भन्देछन् । क्या वात कसरता है ज्ञावका ?
रातभरि निन्द्रा लाग्दैन रे

हाम्रा पर्धानमन्तरी आच्या वाल्वाटारे मुखियालाई हिजोआज रातभरि निन्द्रा लाग्दैन रे । देश र जन्ताको चिन्ताले रातभरि निन्द्रा नलाग्या रे । मुखिया बा’लाई देश र जन्ताको चिन्ता कहिलेदेखि लाग्न थालेछ कुन्नि ? देश र जन्ताको चिन्ताले रातभरि निन्दा नलाग्ने गरेको कुरा घण्टाघरचाहिँ ज्यान गए नि पत्याउँदैन । या त मुखिया वाको बेलुकाको डोज कम भयो, या त माकुन्याउ, प्रचण्डाउ, उपिन्दर जादवले साथ छोडिदिए भने वाल्वाटारबाट बुढानिलकण्ठ बसाई सर्नुपर्छ भन्ने चिन्ताले सताएको हुनुपर्छ कि त आफ्नी जोइलाई कसरी पर्धानमन्तरी बनाउने, आउने दिनमा शितल निवास छिरेर कसरी ढलीमली गर्ने भन्ने चिन्ताले मुखिया बालाई सताएको हुुनुपर्छ । किन निन्द्रा नलाग्या भन्ने कुरा सात पटक पर्धानमन्तरी हुन्छस् भन्ने ज्योतिषीलाई थपक्क बोलाएर चिना टिपन देखाउँदा दूधको दूध पानीको पानी भैहाल्छ नि ।
कसैले रोक्न सक्दैन रे
कस्लाई के को धन्दा कस्लाई के को धन्दा घर ज्वाईलाईचाहिँ खानकै धन्दा भनेझै रित्तिएर सिनित्तै भएको माउवादीका आजीवन अध्येक्षे प्रचण्डाउलाईचाहिँ कहिले पर्धानमन्तनरी हुम्ला भनेर हिजोआज हुटहुटी नै चल्या छ । अस्तिका दिन तिन्ले आउने चुनाउमा माउवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न सक्दैन भनेर फूर्ति लगाएछन् । प्रचण्डाउको कुरा सुन्दा सबैलाई कुरी कुरी लाग्न थाल्या छ । थाँग्रेसको बैशाखी टेकेर स्थानीय निर्वाचनमा शुरुबुरु अलिकता ठाममा लाज छोप्न भ्याएका प्रचण्डाउको फूतिफार्ती निक्कै बढ्या छ । थाँंग्रेसले वैशाखी फिर्ता लिएको दिन विचरा वल्लोे घाट न पल्लो घाटतिरका हुन्छन् । अर्काको बुई चढेर फूर्ति लगाएको चाहिँ सुहाएन है प्रचण्डाउ ।
डम्फु म बजाउने रे
नयाँ जोगीले ज्यादै खरानी घस्छ भन्थे बुढापाकाहरु हो कि क्या हो ? जताततै अपमान नै अपमान सहेर थाँग्रेसका मुखियाको दलौराको फेर अँठ्याएर लाज ढाक्दै आएका एसका अध्यक्षे माकुन्याउले अब गठबन्धनको डम्फु नबजाउने रे । गठबन्धनको डम्फु बजाउनु भन्दा पाटी बलियो बनाउने रे । अब माकुनेले कस्को डम्फु बजाउँछन होला ? गठबन्धनको डम्फु बजाएर स्थानीय निर्वाचनमा गोडाविसेक ठाममा चुनाव जित्या तिनले स्वत्तै बिर्सिएछन् । थाँग्रेसका मुखियासँग ल्याङ्गल्याङ्ग गरेर मुनाफाको व्यापार गर्दै आएका माकुनेले बोक्न सक्ने भन्दा बढी भारी माग्न थालेपछि मुखिया पनि वाक्कदिक्क भैसक्या छन् । बोकाको मुखमा कुविण्डो आँट्दैन ।
बाजे बनबास जाने रे
पिँध बिनको लोहटाको उपाधि पाएका रामचन्द्रे बाजे बनबास जाने तर्खर गर्देछन् रे । विचरा बुढालाई पर्नु पीर प¥या रैछ । । पीर नपरोस पनि किन ? जिन्दगीभरि लुखुर लुखुर पार्टीमा हिँडे । मह चाट्ने बेलामा जहिल्यै अरु अगाडि । जीवनमा एक पटक पर्धानमन्तरी बन्ने साह«ै धोको थियो तर परिस्थितिले शिव बनाइदियो । पार्टी सभापति बन्न कसैले पत्याइदिएनन् । परिवर्तनको नारा लगाउँदै हिडेका अन्ततः बाल्वाटारे मुखियाको पछिल्तिर दौडिए । क्यै नभए नि राष्ट्रपति बनाइदिम्ला भनेर मुखियाले आश्वासन देका थिए । अब त राष्ट्रपति पनि मुखिया आफैले हडप्न खाजे पनि बाजे विरक्तिएका छन् । बनबास भन्दा अर्को उपाय विचरा बाजेले देख्नै छाडेछन् । वनवास पनि कहाँ जाउँन ? बरु काँशी बास गए वेश होला । आफूलाई क्यै हुन नदिने छिचिमिराको कुहेको अनुहार त देख्नुपर्ने थिएन ।
सुजो र सिंह उत्तानो
गिर्जाउ पुत्री सुजाता जोष्ट र गणेशमानसिंह पुत्री गठ्ठे सिंह यतिबेला उत्तानो प¥या छन् । खुब मन्तरी बन्ने चक्करमा दौडिएका थिए । वाल्वाटारे मुखियाले माछोमाछो गर्दै अन्तमा भ्यागुता देखाइदिएसी विचाराहरु दुवै विलौना गर्दे उत्तानो प¥या हुन् । आफ्नै दाइले धोका दिएर मन्तरी खान मुख मिठ्याउदै थाँग्रेसको चौधौ महाधिवेशनमा मुुखियाको पछि पछि लाग्या थिइन् । अर्का गठ्ठे सिंहको त झनै के कुरा भयो र ? मुखियाले मन्तरी बनाइदिन्छु भनेसी सफेराको अगाडि नाचेको सर्प जस्तै बुर्कुसी मार्दै काजीको पछि लाग्या थिए । तिन्लाई नि काजीले थाङ्नामै सुताइदिएछन् । विचरा दुवैजना हिजोआज पो विवलौना गर्न थाल्या छन् । काजी माने वाल्वाटारे मुखियाले बाल मतलब दिँँदैनन भने मुखियाको पिए भानुले समेत फोन उठाइ दिँदैनन् । सबै कुरा वक्तवक्तकी वात हो । ओरालो लाग्यालाई मतलब गर्ने कुरा पनि भएन ।
पर्धानमन्तरी हुन्छु रे
जुनसुकै हालतमा भएपनि अबको पर्धानमन्तनरी म हुन्छु रे । बाउदेउ गौतमले भन्या । जुनसुकै हालत भन्याचाहिँ के होला ? कसरी ती पर्धानमन्तरी बन्लान् । विचाराले भर्खरै एउटा पार्टी खोल्या छन् । पार्टी तर खोले कार्जेकर्ता छैनन् । चुनाव कहाँबाट लड्छन् ? लडिहाले नि जित्ने टुंगो छैन । पर्धानमन्तरी हुन वहुमत सांसद चाहिन्छ । बाउदेउले सांसद कहाँबाट भेला गर्लान् । त्यसै बुरुक्क उफ्रेर जुनसुकै हालतमा पनि म पर्धानमन्तरी बन्छु भनेर फलाकेर, खुट्टा उचालेर त भएन नि । बाउदेउले खै कुरो बुझ्या ?
अन्तेमा
हिजोआज सर्पनाथ माने झल्लाझलुको थुतुनो अलि ज्यादै चल्न थाल्या छ । कसैले पत्याउन छाडेपछि थुतुनो बढी चल्छ भन्थे हो कि क्या हो ? अब हेरम न अस्तिका दिन झलुले काँग्रेसलाई वहुमत दिलाउन हाम्ले किन गठबन्धन गर्ने भनेर फलाकेछन् । जसका विल्ली उसीका म्याउ भनेझै काँग्रेसको बुइ चढेर लाज सम्म छोप्ने भएका झलुलाई कस्ले सम्झाइदिने ? बरु झालदेमालेसँग एकता गर्ने रे । झालेमालेसँगै एकता गर्नु थियो भने हिजो किन उफ्रदै पाफ्रदै लाँग्रेसको टाङमुनि छि¥या छ ? झलझालेमालेको नाम भँजाएर लाँग्रेससँग आउने निर्वाचनमा बढी सिटको बार्गेनिङ नगरेकै वेश । झलुका झल्ला कुरा अब कानेकाने पिच्चा खेल्नेले नि बुझिसक्या छन् ।
