धरान । नेपाल बसोबासा बस्ती संरक्षण समाजले ‘देश र जनता बचाऔं’ अभियान चलाएका छन् । अभियान अन्तर्गत समाजले बुधबार धरानको भानुचौकमा प्लेकार्डसहित धर्ना कार्यक्रम गरेको छ । करिब ३५ जना सहभागी सो अभियानमा मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, भिभिआइपीहरुको सेवा सुविधा खारेजी गर्नुपर्ने, सुकुम्बासीलाई विना शर्त लालपूर्जा वितरण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यमा जनतालाई निःशुल्क गर्नुपर्ने लगायतका माग राखी धर्ना दिएका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष कुमार काकीले गरिब तथा सहायहरुको जीवनस्तर कष्टकर बन्दै गएपछि यो अभियान चलाएको बताउनु भएको छ । उहाँले भन्नुभयोे–‘महंगीका कारण गरिब तथा असहाय खान नपाई मर्नुपर्ने अवस्था आइसकेको छ, जनप्रतिनिधि र उच्च कर्मचारीहरु भने वैठक भत्ता बढाउदै मोजमस्ती गर्दै आएका छन् ।’ उहाँले देशमै खाद्यान्नमा आत्मर्निरता ल्याउन योजना सरकारसँग नहुँदा खाद्यान्नमा समेत परनिर्भरता हुनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गरेर कृषिप्रधान देश नेपालमा खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना तीनै तहका सरकारले ल्याउनुपर्छ ।’ गरिब तथा असहायलाई सहयोग गर्ने सरकारको स्पष्ट नीति नभएकै कारण सुकुम्बासीहरुले समस्या भोग्नुपरेको उहाको भनाई थियो । सुकुम्बासीहरु धरानको भानुचौकमा साँझ ४ बजेदेखि ५ बजेसम्म प्रत्येक दिन मूल्य वृद्धि फिर्ता गर सुकुम्बासीलाई सुरक्षित बसोबास व्यवस्था गर, विना शर्त लालपुर्जा उपलब्ध गर भन्ने लगायतका व्यार्नर बोकी शान्तिपूर्ण धर्ना दिएका दिए । उनीहरुले समाजको आन्दोलनलाई सहयोग गर्ना सबैसँग आग्रह गरेका थिए । सो अवसरमा उनीहरुले विभिन्ने माग राखेको माग सहितको पर्चा सोही बाटो हिड्ने पैदल यात्रीलाइ वितरण गरेका थिए ।
