ट्राफिक कार्यालयको व्यवस्थापनको खोजीमा दलका नेताहरु

धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि राजनीतिक दलहरुले पहल शुरु गरेका छन् । हालसम्म घर भाडामा लिएर धरानमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जग्गा अभावमा आफ्नो निजी कार्यालय भवन निर्माण गर्न नसकेको र धरानमा जग्गा उपलब्ध हुननसक्दा कार्यालय अन्यत्र सर्न सक्ने देखिएकाले धरानमा क्रियाशील राजनीतिक दलहरुले सामुहिक रुपमा जग्गा उपलब्ध गराउन पहल शुरु गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्त पहल गरेको हो । उनीहरुले यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे र जिल्ला ट्राफिक कार्यालय, सुनसरीका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतसंग भेट गरी पहल शुरु गरेका छन् ।
दलहरुको प्रतिनिधि मण्डलले ट्राफिक कार्यालय हाईवेमा हुँदा उत्तम हुने भएकाले धरानको तिनकुनेस्थित बनको जग्गा दश कठ्ठा उपलब्ध गराउन मन्त्री घिमिरेसमक्ष माग गरेका छन् । मन्त्री घिमिरेले दलहरुको मागप्रति सहमत हुंदै यथाशक्य काम अगाडि बढ्ने बताउनुभयो ।


जिल्ला ट्राफिक कार्यालयले दलहरुसंगको भेटपछि धरान उपमहानगरपालिकालाई वातावरणीय प्रभाव मूल्यांकनका लागि र लाङघाली सामुदायिक वनलाई सहमतिका लागि पत्राचार गरेको छ । दलहरुले धरान उपमहानगरपालिका, लाङघाली सामुदायिक वन र ईलाका तथा जिल्ला वन कार्यालयसंग अविलम्व समन्वय गर्ने जनाएका छन् । प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेश १(१) का सभापति अनिल श्रेष्ठ र नगर सभापति श्याम पोखरेल, नेकपा एमालेका नगर अध्यक्ष हर्कराज एभेङ र नगर उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्वु र नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रेवतीरमण राई रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया