अप्राकृतिक गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको चरम सत्तामोहका कारण वामपन्थीहरुको गठबन्धनले नेपाली काँग्रेस इतिहासमै सबैभन्दा कमजोर बनेको छ । सांगठनिक संरचनाहरु ध्वस्त भएका छन्, इमान्दार, जुझारु कार्यकर्तामा वितृष्णा पैदा भएको छ, पलायन भएका छन्, निस्कृय भएका छन् ।
विगतमा चलायमान नेपाली काँग्रेस यतिबेला ज्यान नभएको जस्तो देखिएको छ । नेपाली काँग्रेसलाई नेपाली काँग्रेस जस्तो बनाउन देशका हजारौ कार्यकर्ताहरुले योगदान गरेका छन्,
परिवार त्यागेका छन्, सर्वस्व गुमाएका छन् । तर वर्तमान काँग्रेस नेतृत्वले सत्ता लोलुपताका कारण पार्टीको संरचनागत शाख नै ध्वस्त बनाएको छ ।
सत्ता, शक्ति र अर्थको कारण वर्तमान काँग्रेसका सभापतिले नेतृत्व कब्जा त गरे तर काँग्रेसलाई पतनोमुख बनाए । जब आफ्ना तिस्कृत हुन्छन् र बाहिरियाहरुको प्रवेश हुन्छ त्यसबेला त्यस्तो राजनीतिक पार्टीको औचित्य समाप्त हुन्छ । सत्तामा टिक्नकै लागि वामपन्थीहरुसँग गठबन्धन गर्ने अनि लज्जास्पद ढंगले लोकतान्त्रिक पार्टीहरुसँग गठबन्धनको नाम दिनु थप लज्जाको विषय हो । लोकतान्त्रिक गठबन्धनका लागि लोकतान्त्रिक पार्टीहरुसँग गठबन्धन हुनुपर्छ । लोकतन्त्रको धज्जी उडाउने बामपन्थीहरुसँगको गठबन्धन कसरी लोकतान्त्रिक हुन्छ ? अर्को कुरा नेपाली काँग्रेसको वर्तमान नेतृत्वले चरम अवसरवादी र प्रतिक्रियावादीहरुको साथ लागेर सत्तामा आसिन भएपछि नेपाली काँग्रेसका आदर्श पुरुषहरु बीपी, गणेशमानसिंह, सुवर्ण शमशेर, किसुनजी लगायतको नामै लिन छाडेका छ । प्रचण्ड, माधव, उपेन्द्र, चित्रबहादुलाई खुशी बनाउ नै नेतृत्वलाई फुर्सद छैन ।
अब नेपाली काँग्रेसलाई पुरानै अवस्थमा फर्काउन वाम गठबन्धन तोड्नुको विकल्प छैन । एकातिर वामपन्थीहरुको  विरोध गर्ने काँग्रेस नेतृत्व वामपन्थी जोगाउनमै लागेको छ । स्थानीय निर्वाचनमा वडा सदस्य समेत जित्ने हैसियत नभएको एस, एक आद्य स्थानभन्दा अन्यत्र जित्नै हैसियत नभएको माओवादी केन्द्रलाई प्राण प्रष्ठिायन गर्ने काम नेपाली काँग्रेसको वर्तमान नेतृत्वले नै गरेको हो । भर्खरै मात्र नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नेतृत्वलाई सजग गराउन जुन भूमिका खेल्नुभयो त्यसले कार्यकर्तामा केही आशाको सञ्चार भएको छ । उहाँले नेतृत्वसँग चालीस प्रतिशत सिट माग्नु भएको छ । नेपाली काँग्रेसको चौधौ महाधिवेशनमा केन्द्रीय सभापतिका प्रत्यासी कोइरालाले ४० प्रतिशत मत प्राप्त गर्नुभएको थियो । पछिल्लो समय कोइरालाको पक्षमा काँग्रेसका कार्यकर्ता अझ थपिन थालेका छन् । प्रारम्भदेखि नै कोइरालाले नेपाली काँग्रेस एक्लैले निर्वाचन लड्नुपर्छ भन्ने जुन अभियान चलाउदै आउनु भएको छ त्यसले कार्यकर्ताहरु उत्साहित भएका छन् । कोइरालाको अभियानमा आम कार्यकर्ताहरुले साथ दिन थालेका छन् । वर्तमान नेतृत्वप्रति इमान्दार कार्यकर्ता आक्रोसित भएका छन् । औँलामा गन्न सकिने अवसरवादी चरित्र भएकाहरु मात्र वर्तमान नेतृत्वको साथमा देखिन्छन् । भारतमा पनि राजनैतिक गठबन्धन हुन्छ तर त्यो केवल सत्ताका लागि मात्र हुन्छ । एक्लाएक्लै निर्वाचन लड्छन्, दलहरुबीच निर्वाचनमा सिट बाँडफाँड हुँदैन । तर काँग्रेसको वर्तमान नेतृत्व निर्वाचनमै भागबण्डा गर्न जसरी आतुर छ त्यो घातक हो । यही अवस्था रोका काँग्रेसको वास्तविक जनमतमाथि नै प्रश्नचिन्ह खडा हुनेछ ।

तपाईको प्रतिक्रिया