रतुवाको बाढीले १३ घर डुबायो २५ घर विस्थापित

धरान । मनसुन भित्रिएसँगैको अविरल बर्षाका कारण झापाको दमकस्थित रतुवा खोलामा आएको बाढीबाट १३ घर डुबेका छन् भन २५ घर परिवार विस्थापित भएका छन् । दमक नगरपालिका वडा नं. ७ रेडक्रस भवनको पूर्वतर्फको खोला किनारमा रहेका घरहरु बाढीको पानीले डुबेको इलाका प्रहरी कार्यालय दमकका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभएको छ । बाढीबाट घर डुबानमा परी विस्थापित हुनेहरुमा दिपक गुरुङ, सूर्यमान आचार्य, डिकबहादुर गुरुङ, गोमा तामाङ, लाक्पा शेर्पा, रामकुमारी लावती, भारती तामाङ, सुवास लिम्बु, मनोज मास्के, विष्णु लिम्बु, सरोज विस्कु, खड्ग लिम्बु र विमल विस्कुका परिवार रहेका छन् ।


आइतबार भएको भारी बर्षाससँगै विस्थापितका घर डुबाए पनि कुनै मानवीय क्षति भने नभएको प्रवक्ता पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार राति देखि नै डुबानमा परेका पीडित परिवारको उद्वारमा स्थानीय, प्रहरी, सशस्त्र प्रहरीहरु जु्टेको र उनीहरुलाई सुरक्षित स्थलतर्फ लगिएको छ । यसैगरी रतुवा खोलामा आएको बाढीले गौरादह नगरपालिका वडा नं. ६ टङ्गवा बस्ती समेत डुबाउँदा त्यहाँ रहेका २५ घर परिवार समेत अन्य सरेका छन् । रतुवा खोलाको पानी उक्त बस्तीमा ५ फिटसम्म पुगेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया