पेट्रोलियम पदार्थमा अचाक्ली मूल्य वृद्धि

धरान । सरकारले पेट्रोलियम पदार्थमा एकैपटक अचाक्ली मूल्य वृद्धि गरेको छ । स्वचालित मूल्य निर्धारणको नाममा बर्तमान सरकारको स्वीकृतिमा नेपाल आयल निगमले आषाढ ५गते राति १२ बजेदलेखि लागू हुने गरी अचाक्ली मूल्य बृद्धि गरेको हो ।


पछिल्लो पटक गरिएको मूल्य बृद्धि अनुसार अब पेट्रोल प्रतिलिटर १९९, डिजल लिटर १९२, मट्टितेल प्रतिलिटर १९२ पुगेको छ । निगमले एकैपटक २१ रुपैयाँ बृद्धि गरेको हो । जेष्ठ महिनामा तीन पटक मूल्य बृद्धि गरेको थियो । नेपाल आयल निगमले एक विज्ञप्ती प्रकाशित गरी मूल्य बृद्धि पश्चात पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैया, डिजलमा १३ रुपैया ९५ पैसा घाटा रहेको र मट्टितेलमा ४३ रुपैया ६ पैसा नाफा रहेको जनाएको छ । निगमले खाना पकाउने ग्याँस र हवाई इन्धनमा भने मूल्य बृद्धि गरेको छैन । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिले यातायात ढुवानी लागत बढ्ने भएकोले महंगी बढ्ने यातायात व्यवसायी बताउँछन् । यातायात व्यवसायी एवम् त्रिरत्न यातायात प्रालिका अध्यक्ष धुुव्रराज घिमिरे भन्नुहुन्छ पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि अचाकली हो । अब यातायात व्यवसायीले भाडा बृद्धि गर्नुको विकल्प छैन । अध्यक्ष घिमिरे भन्नुहुन्छ विगतमा पेट्रोलियम पदार्थमा एक रुपैया मूल्य बृद्धि हुँदा राजनैतिक दलका भातृ संगठन, विद्यार्थी संगठनहरु सडकमा टायर बाल्न निस्किन्थे, चर्का नाराबाजी गर्थे, सडकमा टायर बाल्थे, चक्का जाम गर्थे तर अहिले सबै चुपचाप छन् । आन्दोलन गर्ने राजनैतिक पार्टीका संगठनका दल यतिबेला सरकारमा भएकोले चुप बसेका होलान्, अध्यक्ष घिमिरेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया