धरान । कवि, साहित्यकार एवम् लिम्बुवान मुक्ति मोर्चका अध्यक्ष वीर नेम्बाङ एक लाख राशीको काङसोरे पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
पञ्चायतका ती कठिन कालरात्रीका दिनहरुमा लिम्बुवानको आवाज उठाउनुे नेम्बाङ पहिलो व्यक्ति हुनुहुन्थ्यो । लिम्बुवानको आवाज उठाउनेमात्र नभएर लिम्बु भाषा, सिरिजंगा लिपीको नेपालमा मात्र नभएर सिक्किम, दार्जीलिङ्ग, आसाम सम्म उहाँले प्रचारप्रसार गर्नुभएको थियो ।

आफ्नो एकल प्रयासमा नेम्बाङले इलामका विभिन्न स्थानमा याक्थुङ लिम्बु भाषा र सिरिजंगा लिपीको अध्यापन समेत गर्नुभएको थियो । लिम्बुवान नागरिक समाज युकेले नेम्बाङलाई पञ्चायत कालदेखि नै लिम्बु भाषा, सिरिजंगा लिपी र लिम्बुवानको आवाज उठाउदै आएको भन्दै आइतबार धरानमा आयोजित एक कार्यक्रमकाबीच उहाँलाई पुरस्कृत एवम् सम्मान गरेको हो । धरान वडा नं. १५ स्थित चुम्लुङहिममा आयोजित एक कार्यक्रमका बीच प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले नेम्बाङलाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । नागरिक समाज युकेका अध्यक्ष छत्र वनेका अनुसार आधुनिक लिम्बुवान आन्दोलनका सुत्रधार वीर नेम्बाङ नै हुनुहुन्छ । लिम्बुवान आन्दोलनलाई सांगठनिक राजनैतिक दलकोरुपमा अगाडि बढाउने पहिलो व्यक्ति मात्र नभएर लिम्बुवान भाषा, लिपी, साहित्यमा समेत नेम्बाङले पु¥याउनु भएको योगदनको उच्च कदर गर्दै काङ्सोरे पुरस्कार पदान गरिएको हो । उहाँले भन्नुभयो लिम्बुवानको मुद्दालाई नेम्बाङले शान्तिपूर्ण ढंगले उठाउनुभयो । तथापि तत्कालीन सरकारले उहाँलाई सत्रुतापूर्व व्यवहार ग¥यो । कहिले गिराफ्तार गरेर थुन्ने, कहिले परिवारै विस्थापित गराउने कार्य ग¥यो ।
पुरस्कृत नेम्बाङ सन् १९५८ मा पाँचथरको याङबोङमा जन्मनु भएको हो । उहाँ विगत ४० बर्षदेखि लिम्बु भाषा, साहित्य, लिपीसँगै राजनीतिमा सक्रिय रहनु भएको छ ।
