भारत सरकारको अनुदान सहयोगमा नाम्ग्याल गुम्बा विद्यालय भवनको स्तरोन्नति

लोमान्थाङ (मुस्ताङ) । भारत
सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका वडा नं. ३ छोनहुपस्थित श्रीपाल एवम् नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नति गरिएको छ ।
नेपाल भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत दुई करोड ६३ लाखको लागतमा निर्माण भएको उक्त विद्यालय भारतीय राजदूतावासका कार्यवाहक
राजदूत श्रीमति नामग्य सी खम्पाले गत शुक्रबार एक विशेष समारोहबीच समुद्घाटन गर्नुभयो ।  भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीका अनुसार विद्यालय उद्घाटनसँगै विद्यालयलार्इ एक स्कूल बस, धरपझोङ गाउँ पालिकालाई एक थान एम्बुलेन्स समेत उपहार स्वरुप प्रदान गर्नुभएको थियो । विद्यालय निर्माणका लागि जिल्ला समन्वय समिति मुस्ताङले उक्त परियोजना कार्यान्वयन गरेको थियो । परियोजना भारत स्वतन्त्र भएको ७५ औं बर्षको उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत रहेको र यस बर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।


सन् २००३ यता भारत सरकारले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टीभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालको सातवटै प्रदेशमा ४७० वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । तीमध्ये मुस्ताङ जिल्लामा १५ वटा र गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् । जारी विज्ञप्तीमा भनिएको छ नेपाल र भारतबीच वहुपक्षीय एवम् वहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्छ । हाल उद्घाटन गरिएको श्रीपाल एवम् नाम्ग्याल गुम्बा विद्यालय परियोजनाले नेपालमा सामाजिक एवम् साँस्कृतिक पूर्वाधारका विकास र जनता जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन सकारात्मक भूमिका निर्वाह गर्नेछ ।

तपाईको प्रतिक्रिया