धरान । पन्द्रौ गणतन्त्र दिवसका अवसरमा आइतबार धरानमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले महामानव बीपी कोइराला र लौह पुरुष गणेशमानसिंहको छुट्टाछुट्टै स्थानमा रहेको प्रतिमामा माल्यार्पण सहित दिपप्रज्वलन गरेका छन् ।

धरान १३ स्थित बीपी पार्कमा परिवर्तनशील समाजको आयोजनामा बीपीको पूर्ण कदको प्रतिमामा माल्यार्पण सहित दिप प्रज्वलन गरिएको थियो । नेपाली काँग्रेस प्रदेश न. १ का महामन्त्री उमेश थापा, नेपाली काँग्रेस धरान उपमहानगर पालिकाका प्रमुखका प्रत्यासी एवम् जिल्ला सदस्य किशोर राई सहित दर्जनौ स्थानीय नेता तथा कार्यकर्ताले बीपीको प्रतिमामा माल्यार्पण गर्दै दिप प्रज्वलन गरेका थिए ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेस प्रदेश नं. १ का महामन्त्री उमेश थापाले गणतन्त्र, संविधान, विधिको शासन र जनताका अधिकारको संरक्षण गर्न केन्द्रमा पाँच दलीय गठबन्धन बनेको बताउनुभयो । उहाँले भन्नुभयो स्थानीय निकाय अन्तर्गत हालै सम्पन्न धरान उपमहानरपालिकाको निर्वाचनमा गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट प्रमुखको प्रत्यासी किशोर राईले भोग्नु भएको पराजयको गम्भीर समीक्षा गर्छौं। यसैगरी धरान उपमहानगरका प्रमुखका प्रत्यासी किशोर राईले भन्नुभयो निर्वाचनका समयमा जे जस्ता कारण जोबाट गल्ति भयो अब त्यसलाई सच्चाएर अगाडि बढ्नुको विकल्प छैन । यसै बर्षभित्र संघ र प्रदेशको निर्वाचन हुँदैछ । ती दुवै निर्वाचनमा नेपाली काँग्रेसका प्रत्यासीहरुलाई विजय गराउन सम्पूर्ण नेपाली काँग्रेस धरानका कार्यकर्ताले आपसी मनमुटाव र तिक्तता बिर्सेर अगाडि बढ्नुपर्छ । यसका लागि संगठन सुदृढिकरणको आवश्यकता रहेकोमा राईले जोड दिनुभयो । अब हरेक कलेजका विद्यार्थीलाई नेपाली काँग्रेसले लेखन प्रतियोगिता, वतृत्व कला तालिम, उद्घोषण तालिम प्रदान गर्दे ृउत्कृष्टहरुलाई पुरस्कारको व्यवस्था समेत गर्दा उनीहरुमा नेपाली काँग्रेसप्रति आस्था जागृत हुने बताउनुभयो । परिवर्तनशील समाजका अध्यक्ष एवम नेपाली काँग्रेसका पुराना नेता विश्वराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महिला नेतृ उर्मिला प्रधानले पनि गणतन्त्रको सान्दर्भिकताका बारेमा प्रकाश पार्नुभएको थियो भने सञ्चालन किशोर श्रेष्ठले गर्नुभएको थियो ।
उता धरान १६ स्थित गणेशमान सिंहको प्रतिभामा नेपाली काँग्रेस धरान १६ कायसमितिका सभापति किरण आचार्यको सक्रियतामा माल्यार्पण गरिएको थियो । सो अवसरमा नेपाली काँग्रेसकातर्फबाट वडा नं. १६ बाट नवनिर्वाचित वडाध्यक्ष मुरारी भट्टराई, नेपाली काँग्रेस वडा नं. १६ का उपसभापति मानबहादुर विश्वकर्मा लगायत दर्जनौ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
