धरान । आसन्न स्थानीय निकायको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्न केन्द्रले दिएको निर्देशन कार्यान्वयन गर्न बसेको पाँच दल निकटका स्थानीय नेताहरु सहमतिमा पुगेका छन् ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले दिनुभएको जानकारी अनुसार माओवादी केन्द्रलाई उपमेयर सहित ४ वडाध्यक्ष, जनता समाजवादीलाई एक वडाध्यक्ष, एकीकृत समाजवादी पार्टीलाई एक वडाध्यक्ष र नेपाली काँग्रेसलाई मेयर सहित बाँकी वडाका वडाध्यक्षमा भागबण्डा मिलेको छ । धरानका २० वटामा गठबन्धन दल र बाँकी रहेका वडामा काँगे्रस सहित पछि गठबन्धनको सम्भावना भएका संघीय लिम्बुवान राष्ट्रिय मञ्च,राष्ट्रिय प्रजान्त्र पार्टीलाई समेत छुट्याइने गरी सहमति बनेको छ ।
सभापति तामाङका अनुसार नेपाली काँग्रेसको तर्फबाट हालसम्म ७ वडाको सर्वसम्मत वडाध्यक्षको नाम टुंगो लागिसकेको छ । जसमा वडा नं. २ बाट सुधिरसिह लिम्बु, वडा नं. ३ बाट विद्या शाक्य, वडा नं. ४ बाट गणेश बजगाई, वडा नं. ५ बाट सन्तोष लिम्बु, वडा नं. १३ बाट पेम्बा तामाङ, वडा नं. ९ बाट रुपेश आचार्य, वडा न. १८ बाट नरेन्द्रकुमार राई (प्रवीण) रहेका छन् । अन्य वडाको टुंगो कहिलेसम्म लाग्ला भन्ने सवालमा सभापति तामाङ्गले भन्नुभयो अन्य वडामा सर्वसम्मत हुन सकेको छैन । आकांक्षीहरु दुई भन्दा बढी रहनु भएको छ । वडाबाट सिफारिस भएका नामावली नगर, प्रदेश हुँदै क्षेत्रमा आउनुपर्छ । शायद एक दुई दिनभित्रैमा सबैको टुंगो लगिसक्छ, उहाँले भन्नुभयो ।
