धरान । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा भारत सरकारको ४ करोड २३लाख ९० हजारको लागतमा निमाण सम्पन्न भएको खानेपानी आपूर्र्ति परियोजनाको सोमबार राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा र भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

परियोजना भारत स्वतन्त्र भएको ७५ बर्षको उत्सव मनाउन सन्दर्भमा भारत सरकारले उक्त खानेपानी आपूर्ति परियाजना निर्माण गरिदिएको हो । उक्त परियोजनाबाट खुमजुङ्ग र कुण्डे क्षेत्रका ६ सय घर परिवार, विद्यालय, अस्पताल, सरकारी कार्यालय र पर्यटकहरुका लागि स्वच्छ खानेपानी उपलब्ध हुने भएको छ । भारतीय राजदूतावासद्वारा एक विज्ञप्ती प्रकाशित गरी परियोजनाले विशेष गरी त्यस क्षेत्रका स्थानीय बासिन्दाहरुले एक गाग्रो पानीका लागि टाढा टाढा जानुपर्ने बाध्यता हँटेका जनाएको छ । सन २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाएको छ । जसमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । ती परियोजनाहरु मध्ये सोलुखुम्बका दुई गरी प्रदेश नं. १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा तीनवटा एम्बुलेन्स समेत उपहार स्वरुप प्रदान गरेको विज्ञप्तीमा जनाइएको छ ।
