धरान । वैसाख ३० गते स्थानीयको अद्यावधिक निर्वाचन नजिकिएसँगै सुनसरीका ६ वटा पालिकाहरुमा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका प्रत्यासीका आकांक्षीका नामहरु चर्चामा आउन थालेका छन् ।
पाँच बर्ष अगाडि भएको स्थानीय निकायको निर्वाचनमा ६ वटा पालिकामध्ये नेपाली काँग्रेसले ३ वटा पालिकाहरुमा आफ्नो वर्चश्व कायम गरेको थियो । नेपाली काँग्रसले दुहवी नगरपालिका, इनरुवा नगरपालिका र रामधुनी नगरपालिकामा विजय हाँसिल गरेको थियो भने नेकपा एमालेले धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा आफनो वर्चश्व जमाएको थियो । अन्य दलहरुले सर्वनाक हार व्यहोरेका थिए ।






यसपटक राजनैतिक परिदृश्य बद्लिएको छ । नेपाली काँग्रसले सुनसरीका ६ वटै पालिकाहरुमा आफ्नो सांगठनिक धरातल मजबुत बनाएका कारण पालिकाको निर्वाचनमा काँग्रेसले वर्चस्व कायम गर्ने राजनैतिक विश्लेषकहरुले आंकलन गरेका छन् । धरानका पुराना नेपाली काँग्रेसका नेता विश्वराज शर्मा भन्नुहुन्छ यसपटक काँग्रेसका लागि गोल्डेन अवसर देखिएको छ । जनताबाट तिरस्कृत अनुहारहरुलाई पहुँच र नेता रिझाएकै कारण उमेद्वार बनाइए त्यसले खराब परिणाम दिने छ । निरन्तर संगठनमा सक्रिय मतदाता र कार्यकर्ताका माझमा घुलमिल भएको व्यक्तिलाई उमेद्वार बनाउनुपर्छ । यतिबेला धरानमा धरान उपमहानगरपालिकाको प्रमुखका लागि आधा दर्जन अनुहार आकांक्षी देखिएका छन् । त्यसमा पनि नेपाली काँगेसका पूर्व धरान नगर सभापति किशोर राईको चर्चा व्यापक छ, भण्डारीले भन्नुभयो । यसका अलावा अन्य आकांक्षीहरुमा उमेश थापा, तिलक राई लगायत पनि छन । उहाँ भन्नुहुन्छ धरान उपमहानगरपालिकको प्रमुखका लागि किशोर राईको विकल्प देखिदैन । नेतृत्वले सुुझबुझपूर्ण निर्णय गर्नेमा भण्डारी विस्वस्त हुनुहुन्छ ।
उता इटहरी उपमहानगरपालिकाको प्रमुखका लागि अहोरात्र संगठन गर्दै आउनु भएका नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका सभापति हेमकर्ण पौड्याललाई प्रमुखको उमेद्वार बनाउनुपर्नेमा इटहरीका काँग्रेसहरु एक मत देखिएका छन् । इटहरी उपमहानगरपालिकामा अघिल्लो स्थानीय निकायको निर्वाचनमा पार्टीले गलत निणय गर्दा नेपाली काँग्रेसले पराजय भोग्नुपरेको नेपाली काँग्रेसका नेता गजेन्द्र ढकाल बताउनुहुन्छ । इटहरी उपमहानगरपालिकाको प्रमुखका लागि गत स्थानीय निर्वाचनमा पराजित हुनु भएका रोहित प्रसाई, व्यापारी भीम पौड्याल पनि प्रमुखका आकांक्षी देखिएका छन् । इटहरीका अर्का एक पुराना कार्यकर्ताले भने इटहरी उपमहानगरपालिकामा काँग्रेसले निर्वाचन जित्ने हो भने हेमकर्ण पौड्यालको विकल्प अरु कोही हुन सक्दैनन् । तर यहाँ पहुँच र पैसाको दम्भ चल्छ । विगतमा पनि त्यस्तै भएको थियो । एक दिन अगाडिसम्म नगर सभापति हेमकर्ण पौडयाललाइ टिकट दिने निर्णय भएकोमा भोलिपल्ट विहान रोहित प्रसाईलाई दिइयो । नेतृत्वको उक्त निर्णयका विरुद्धमा स्थानीय कार्यकर्ताहरुले चरम असन्तुष्टि जनाउँदै सडकमा उत्रिएर नेतृत्वको आलोचना गरेका थिए । उहाँले भन्नुभयो यसपटक त्यस्तो नहोला ।
यसैगरी इनरुवा नगरपालिकाको वैसाख ३० गते हुने निर्वाचनमा वर्तमान नगरप्रमुख राजन मेहताले एकपटक दोहोरिने आकांक्षा देखाउनु भएको छ । उहाँ भन्नुहुन्छ मैले पाँच बर्षे कार्यकालमा भएका स्रोत साधनहरुको समुचित उपयोग गरी नगर क्षेत्रमा विकास गरेको छु । केही अधुरा काम पूरा गर्नपनि मलाई अवसर दिनुपर्छ । मेहता जस्तै प्रमुखका अन्य धेरै आकांक्षीहरु रहेका छन् । त्यसमध्ये नेपाली काँग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारी, मणिराज दुलाल, योगेन्द्र मेहता समेत आकांक्षी रहेका छन् । उता दुहवी नगरपालिकामा बेद गच्छदार हालसम्म एक्लो आकांक्षीका रुपमा देखिनु भएको छ भने रामधुनी नगरपालिकामा पनि जयप्रकाश चौधरीले नै पुन ः एकपटक दोहेरिने आकांक्षा देखाउनु भएको छ । बराह नगरपालिकामा आधा दर्जनको चर्चा चलेको छ । जसमा नेपाली काँग्रेस वराह नगर समितिका सभापति रमेश कार्की, जीवन विष्ट लगायत रहनु भएको छ ।
