धरान । नेपाली काँग्रेसका होनहार कार्यकर्ता बलवन्त ठाकुरको निधन भएको छ । लामो समयदेखि मृगौला लगायतका समस्याबाट पीडित ठाकुरको सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गर्दा गर्दै साँझ सात बजे उहाँको निधन भएको हो ।

आजीवन शिक्षण पेशामा संलग्न ठाकुर वि.सं. २०४६ सालको परिवर्तन पश्चात नेपाली काँग्रेसँग आवद्ध नेपाल शिक्षक संघको संस्थापक कोषाध्यक्ष रहनु भएको थियो । धरान उपमहानगरपालिका वडा नं. १ निवासी ठाकुर आधा दर्जनभन्दा बढी संघ संस्थाहरुमा सक्रिय रहँदै आउनु भएको थियो । नेपाल स्काउट, नाइ संघका संस्थापक, हलुवाई समाज सेवाका संस्थापक, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, नेपाल परिवार नियोजन संघका आजीवन सदस्य, परिवर्तनशील समाजका सदस्य लगायतमा उहाँको आवद्धता रहेको थियो ।
वि.सं. २०११ सालमा जन्मनु भएका ठाकुर शिक्षण पेशामा आवद्ध रहेपनि वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलन, जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातान्त्रिक आन्दोलन र २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा उहाँको उल्लेखनीय भूमिका रहेको थियो । स्वर्गी ठाकुरका ३ छोरी र एक श्रीमति रहनु भएको छ ।
