नेपालको राजनीतिक पटलबाट अवसानको यात्रातर्फ उन्मुख खासगरी नेकपा माओवादी केन्द्र र नेकपा एसको राजनीति जोगाइदिने ठेक्का नेपाली काँग्रेसले लिएको छैन ।
निर्वाचन कुनै पनि राजनीतिक दलको हैसियत मापन गर्ने साधन हो । स्थानीय निकायको निर्वाचन मिति घोषणा भइसकेको छ । साना टुक्रे दलदेखि प्रमुख प्रतिपक्षी दल एमाले, नेपाली काँग्रेस निर्वाचनमा होमिइसकेका छन् । तर नेकपा माओवादी केन्द्र र नेकपा एस मतदाता माझमा जाने ल्याकतमा छैनन् ।
उनीहरु सत्ता गठबन्धनको दुहाई दिएर स्थानीय निर्वाचनमा समेत गठबन्धनका लागि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अनेकौ कोणबाट मनाउने, अघोषित रुपमा धम्याउने गरिरहेका छन् । मुलुकभरिका आम कार्यकर्ताहरुको एउटै चाहना छ आगामी तीनै तहको निर्वाचनमा नेपाली कँग्रेस एक्लै निर्वाचनमा जानुपर्छ । काँग्रेस आफैमा कमजोर छैन तर गठबन्धनका कारण कमजोर बनाइँदैछ । नेपाली काँग्रेसका लागि वर्तमान गठबन्धन जति लामो हुन्छ त्यति नै घातक बन्दै जाने निश्चित छ ।
न विचार, न आदर्श, न कार्यदिशा न सिद्धान्तकाबीच माओवादी, एस, जसपा, जनमोर्चासँग मिल्छ । पद लोलुपताका कारण गठबन्धनका कुनैपनि दलसँग आगामी निर्वाचनमा काँग्रेसले गठबन्धन गरेमा त्यसको परिणाम इतिहासमै सबैभन्दा घातक हुन्छ । त्यसको परिणामको सम्पूर्ण जिम्मा त्यसबेला पार्टी सभापतिले लिनुपर्छ । त्यो स्थिति नआओस् भन्नेमा आम नेपाली काँग्रेसका कार्यकर्ताहरुले चिन्ता र चासो लिन थालेका छन् । गठबन्धनलाई सँगै लिएर जान सकेमा नेपाली काँग्रेसको मतबाट निर्वाचनमा केही स्थानमा आफ्नो शाख जोगाउन सकिने बुझाई माओवादी र एसको छ । तर उनीहरुले बुझ्न नसकेको कुरा के हो भने अनेकौ छलकपट, छलछाम गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रभावमा पारे पनि कार्यकर्ता त्यसलाई स्वीकार्ने अवस्था छैन । स्वीकार्ने कुरा पनि हुँदैन । त्यस्तो अवस्था आएमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले मुलुकैभरि विद्रोह गर्ने स्थिति देखिन थालेको छ ।
नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले मुलुकभरिका कार्यकर्ताहरुको मनोभावना बुझेरै आगामी हुने तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै निर्वाचनमा लड्ने बताइसक्नु भएको छ । कथंकदाचित निर्वाचनमा गठबन्धन भएमा ती स्थानमा काँग्रेसले बागी उमेद्वारी दिने उहाँले संकेत गरिसक्नु भएको छ ।
राजनीतमा स्थापित हुन स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हरेक दलले एक्लै हिस्सा लिनुपर्छ । केन्द्रमा सरकार बनाउन जस्तो सहज निर्वाचनमा हुँदैन । अर्कोतर्फ जनता समाजवादी पार्टी समेत यतिबेला नेपाली काँग्रेसकै मुख ताकेर बसेको छ । यस पटकको कुनैपनि निर्वाचन तराईका जिल्लामा उसका लागि सहज छैन ।
तराईमा डा. सिके राउतको बढ्दो लोकप्रियता, सांगठनिक सुदृढमा सिके राउत नेपाली काँग्रेस एमालेसँगै दौडिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनमा एक्लै लड्ने घोषणा गरिसकेको छ । उसले कसैको साथ र सहयोग खोजेको छैन । एमालेले त चुनौति नै दिएको छ गठबन्धनका पाँचै दल एक साथ आएपनि आफूहरुलाई कुनै असर पर्दैन भनेर । त्यसैले काँग्रसले आफ्नो वर्चश्व कायम गर्न एक्लै निर्वाचनमा जानुको विकल्प छैन ।
