धरान । पछिल्लो समय सामन्य विवादमा आफन्तकै हत्या गर्ने प्रवृत्ति बढेर गएको छ । सामान्य झगडाकै निहुमा हत्या गर्ने प्रवृत्ति बढेर गएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रदेश एकमा दुई जिल्लामा भएको हत्याले पनि सामान्य विवादमा आफन्तको अत्या गर्ने श्रृखला बढेर गएको छ ।

प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् भने मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।
सोमबार तामाङले मोबाइल बिगारेको बिषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ ।
त्यसैगरी आइतबार नै भण्डारीले घरयासी बिबादका कारण ७० बर्षीया आमा चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडी बढाएको छ । दुवै मृतकको लाश आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
