कटारी । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. २ करहिया, बेल्हास्थित रहेको आदीवासी थारु समुदायको ‘थारु संग्राहलय’ घुम्न आउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ ।
२०७६ साल चैत्र ११ गते पश्चात विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण निर्माणाधीन संग्राहलय एक बर्षपछ मात्र तयार भएको थियो । तर पुन ः संक्रमण फैलिदै गएपछि संग्राहलय निर्माण सम्पन्न भएपनि पर्यटकहरु संग्राहलय अवलोकनमा आउन सकेका थिएनन् ।

हाल कोभिडको तेस्रो लहर ओमिक्रोनको प्रभाव न्यून हुन थालेपछि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको संग्राहलय व्यवस्थापन समितिका अध्यक्ष मिश्रीलाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो संग्राहलय अवलोकनमा थारु समुदायमात्र नभएर अन्य समुदायका समेत ठूलो संख्यामा आउन थालेका छन् । खासगरी अवलोकनका लागि प्रदेश नं. १, मधेशप्रदेश, काठमाण्डौ लगायत अन्य स्थानका संस्कृतविदहरु समेत आउने गरेका छन् । थारु संग्राहलयमा थारु जातिका प्राचीन तथा परम्परागत सामाग्रीहरु राखिएका छन् । अझ भन्नुपर्दा जन्मदेखि मृत्यु पर्यन्तसम्म थारु समुदायले प्रयोग गर्ने गरेका मौलिक सामाग्री, भेषभुषा, गरगहनाहरु राखिएका छन् । थारु महिलाहरुले जाल हानेर माछा मार्दै गरेको दृश्य, गोरु, गाढा, हलो जोतेको, विभिन्न चाँडपर्वमा सामुहिक रुपमा गाइने गीत, समाजका परम्परागत रुपमा थारु समुदायले प्रयोग गर्ने गरेको घरहरु ओखल, जाँतो, थारु समुदायका घरका भित्तामा बनाइने आकृतिहरु संग्राहयलयमा राखिएका छन् ।
सग्राहलयको नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री विजयकुमार गच्छदारले २०७७ मंसिर १३ गते उद््घाटन गर्नुभएको थियो । स्थानीय थारु समुदायहरुकै पहल र लगानीमा संग्राहलय निर्माण भएको अध्यक्ष मिश्रीलाल चौधरीले सुनाउनुभयो । संग्राहलय निर्माणका लािग अध्यक्ष चौधरीले पनि आफ्नो निजी जग्गा दान गर्नुभएको थियो ।
