कमलाउ उत्तानोटाङ
ताक परे तिवारी नत्र गोतामेको शैलीमा राजनीति गर्दै आएका हप्तादिन अगाडि सम्मका राप्रपाका अध्यक्षे कमलाउ उत्तानो परेर पाहा पछारिए जस्तै पछारिएका छन् । सबले ए कमलाउ भो अब जोरी नखोज भनेर कम्ता सम्झाएका होइनन् । मान्ने भा’ पो ? पछारिनु रै’छ किन मान्थे ? नक्कली राजावादी भएर यत्तिका दिनसम्म तिन्ले राप्रपाका सबै नेता कार्जेकर्तालाई झुक्याएका रै’छन् ।
राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र हुनुपर्छ, गनतन्त्र खारेज हुनुपर्छ भन्ने अनि सरकारमा जाने चान्स पाए भने बुर्कुसी मारेर दौडेर जाने । सरकारमा मन्तरी भएसी’ भाँडमा जाओस् राजसंस्था, भाँडमा जाओस हिन्दु राष्ट्र, गणतान्त्रिक संविधान उत्कृष्ट हो भन्दै बाजा बजाउने कमलाउको मुखुण्डो यसपाली ह्वाङ्गै भएको छ । अब कमलाउ के गर्लान् ? आफ्ना गोडादशेक नन्दीभृंगीलाई लिएर अर्को घरजम गर्लान् कि लिंगदेनकै पछिल्तिर दौड्लान । यो कुरा वादमा थाहा हुन्छ ।

का“चो नेतृत्वको पक्षमा छैन रे
घरले जाजा बनले अइजा आइज भन्ने बेला भएका नाममात्रका पशुपति शमशेर राप्रपाको अध्यक्षमा राजीन्दर लिंगदेनले बाजी मारेपछी होस न हवासमा भएका छन् । कमलाउ पछारिएसी’ विचरा बुढाको होसै गुम भएको छ । जित्नेलाई थपक्क बधाई दिए हार्नेलाइ सान्त्वना दिनुपर्नेमा बुढाको मति बिग्रिएछ कि क्या हो । राजिन्द्र लिंगदेनले चुनाउ जितेसी बुढाले आफू कच्चा नेतृत्वको पक्षेमा छैन भन्दै ट्विट गरेछन् । यतिका बर्षदेखि पाको उमेरकाले के लछारपाटो लगाका थिए कुन्नि ? बुढाको हातमा कमलाउले गोब्राइदिएका थिए कि क्या हो ? के हो काँचो र पाकेको नेतृत्व भन्या ? अब बुढाले कमलाउलाई उचालेर कमलाउलाई नै अर्को पार्टी खोल्न लगाए भने कसैले आश्चर्य नमाने हुने भएको छ । कि कसो हौ ?
सह महामन्त्रीमा उठ्ने रे
हाम्रा बाजे बराजुले सन्तान थरिथरिका भनेर त्यसै भन्या होइनन् । कसले कामै नगरी खाने दाउमात्र हेर्छन्, कोही मरुन्ज्याल काम गर्दा नि खान लालायित हुँदैनन् । तलतिर काम नगरी मास्तिर मात्र चाकडी गरेको भरमा दलित संघका अध्यक्ष, तनुवा सांसद मन्तरी सम्म पड्काएका धरानका एक आयाराम गयारामलाई काँग्रसको सह महामन्त्री चाहियो रे । तलतिर कसैको बाल मतलव नदिने तिन्ले काँग्रेसका लागि केही माखो मारेको कसैलाई थाहा छैन । तिन्ले महामन्तरी चाहियो भनेर कुन थुतुनोले भन्न सक्या होलान् ? फेरि दुई चार जना लाउेकहरुले ‘बेष्ट अफ लक’ भनेर सामाजिक सञ्जालमा लेख्या देख्दा घण्टाघरलाई ताजुबमात्र लाग्या छैन कन्सिरीका रौ नै रनक्क भएर आउँछ ।
पञ्चायत बोकेर फर्कियो ?
नेप्लिज लाँग्रेसका गनगने थापा पनि हिजो आज अलि बढ्तै गनगन गर्न थाल्या छन् । हैन हौ यी गनगने थापाको काम छैन ? खाली अर्काको खिसीटेउरी ग¥यो, चियो चर्चो ग¥यो, अनि फलाक्यो । यसो गर्दा गनगने थापालाई आफू ठूलो पल्टिएको महसुस हुँदो रै’छ । अब हेरम न खप्रओले झालेमालेको महाधिवेशन भातपुरमा ग¥यो माने नारायण घाटमा गनगने थापाले भन्या झालेमालेले नारायनघाटबाट पञ्चायत बोकेर फर्कियो रे । कस्तो फेद न टुप्पोको गफ हान्देको गाँठे ? ल झालेमालेले नारायणघाटबाट पंचायत बोकेर फर्कियो रे । कँग्रेसले काठमाण्डौमा हुने महाधिशेनबाट के लिएर फर्किने होला ? आखिरी सबै दलले महाधिवेशनबाट केही न केही लिएरै फर्किने होला ? आफूले लिएर फर्कने त्यो चाहिँ भन्नु नि खाली अर्काको मात्र डाहा त गर्नु भएन नि । कि कसो हौ काजी साहेव ?
रावल अब के गर्लान् ?
यसपटक भएको झालेमाले अधिवेशनमा खप्रओसँग साह«ै नमिठोसँग भीम रावल पराजित भए । सहमतिमा पदाधिकारी चयन गरम न त भन्दा तिन्ले ज्यान गए नि मानेनन् । अहिले उत्तानोचित्त खाएर बस्या छन् । ठन्डा भएका छन् । अब तिन्ले के गर्दा हुन् ? पार्टीमा तिनको कुनै औकातै रहेन । विचरा डाक्टर त हुन नि तर क्यार्नु नाममात्रकारे परे घोचघाच केही गर्न आउँदैन । घोचघाच गर्न जान्या भएपनि यसो सानोतिनो पसल थापेर जीविका चलाउथे । बाउराम कामी र रावल एउटै ड्याङका मुला परेछन् । दुवै डाक्टर बेकामे । दुवै मेरा बाउले घ्यु खा थे हात सुँघ त भन्ने खालका । खैर केही छैन । यसो गामघरतिर गएर बाख्रा पाल्दा पनि हुन्छ । पहरासँग सिंगौरी खेल्नु हुँदैन भन्ने ज्ञान भइदिएको भए सांड पल्टिएर सिंगौरी खेल्न जाने नै थिएनन् ।
सिटौला र देउवाको एउटै गाठो
झापाली सिटौला र डँडेलधुरे देउवाको गाँठो त एउटै रै’छ । कार्जेकर्ताचाहिँ आपसमा मारामार गर्छन् तर सिटौलाको पक्षेको तँ देउवा पक्षको भनेर । देउवा काजीले सिटौलालाई खेतला लगाएका रै’छन् । अस्तिको जिल्ला, नगर, गाउ क्षेत्रमा भएको लाँग्रेसेको अधिवेशनले यही कुरा प्रमानित गरिसक्या छ । सिटौलाको स्वभावै जहिल्यै नि बलेको आगो ताप्ने हो । अरु जस्तो हो र ? नबलेको आगो पनि ठोसठास पारेर बालेर ताप्ने ? तिन्ले पंचायतको स्वाद पनि चाखेका छन् । प्रर्जातन्त्रमा किशुन जी, कोइरालाको लिटो खाएर अहिले देउवाको लिटो खाँदैछन् । जे होस् सबैतिरको लिटोको स्वाद यिन्ले
राम्रैैसँग चाख्दै आका छन् । राजनीति भन्या त सिटौलासँगै सिक्नुर्छ कि क्या हो गाँठे ?
ओली र एमाले साफ हुन्छ रे
हिजोआज माकुने निक्कै बर्बराउन थाल्या छन् । नर्बराएर विचराको अर्को उपाय पनि छैन । स्यालबहादुरले काँधबाट ओरालेका दिन माकुन्याउ साफ । धन्न अहिलेसम्म स्यालबहादुले काँधमा बोकेर हिड्द्या छन् । अतिका दिन तिन्ले भन्या आउने चनाउमा ओली र एमाले दुवै साफ हुन्छ रे । विचरालाई ओली र एमालेको भूतले भित्रभित्रै खाइसक्या छ । नारायनघाटको मानव सागर देखेपछि त तिन्का दिमागका नटबल्टुले कामै गर्न सक्या छैनन् ।
अन्तेमा
निधी आफ्नै ठाममा स्वाहा । माने काँग्रेसको १४ औं महाधिवेशनमा विमलेन्द्र निधि आफ्नै प्रदेश नं. २ मा नराम्रोसँग चिप्लिएका छन् । आफ्नै घरेलु प्रदेशमा राम्रा्े पकड जमाउन नसक्नेले केन्द्रीय सभापतिमा उठ्छु भनेर हिड्दा घण्टाघरलाई पनि कुरी कुरी लागेको छ । गएको आम निर्वाचनमा आफ्नै क्षेत्रबाट चुनाउ जित्न नसक्नेले बर्बराउनु सुहाउँछ ? स्यालबहादुर, शेखरलाई टक्कर दिने भन्थे । अहिले सडक दम भएका छन । मान्छेले आफ्नो ल्याकत भन्दा बढी उफ्रनु हुदैन भन्ने विचराले अहिले आएर बुझे कि ? नबुझे वाल मतलब पनि छैन ।
