काँग्रेसको वर्तमान असक्षम र अदुरदर्शी नेतृत्वको दबाबका कारण आफ्नो जवानी मात्र नभएर सर्वश्व गुमाएका इमान्दार कार्यकर्ता पाँखा लाग्दैछन् ।
नेपाली काँग्रेसको बाध्यात्मक रुपमा सम्पन्न गर्नुपर्ने १४ औं महाधिवेशन अन्तरगत हुन लागेको क्षेत्र र प्रदेशसभा अन्तर्गतका निर्वाचन यही मंसिर ६ गते सम्पन्न हुँदैछन् ।
तर पार्टीभित्रको गुटगत राजनीतिले इमान्दार कार्यकर्ताहरुलाई पाँखा लगाएको छ भने अवसरवादी, आपराधिक पृष्ठभूमि भएका, आफ्नो संरक्षणमा पार्टीलाई प्रयोग गर्ने जमातहरुको वर्चस्व कायम हुने देखिएको छ । सत्ता र शक्तिको पछि मात्र दौडधूप गर्ने त्यस्ता प्रवृत्तिलाई स्थानीय धरातलको यथार्थता नबुझिकनै संगठन विस्तारमा अहोरात्र खटिने, कार्यकर्ता बीचमा रहनेहरुको मानमर्दनले के काँग्रेसलाई बलियो बनाउँछ ?
जताबाट फाइदा लिन सकिन्छ त्यतै लाग्ने नेपाली काँग्रेसको आदर्श, मूल्य, मान्यता नबुझेकाहरु नै नेतृत्वका लागि प्यारो भइदिँदा काँग्रेस क्रमश ः कमजोर बन्दै गएको छ । संगठन भाँडमा जाओस् आगामी आम निर्वाचनसँग कुनै साइनो नराख्ने जमातले केन्द्रीय नेतृत्वको परिक्रमा गरेकै आधारमा हावी गराउँदै जाने प्रवृत्तिकै कारण विगतको स्थानीय निर्वाचन, प्रदेश निर्वाचन र संघीय निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको वास्तविकतालाई १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व पंक्तिले चटक्कै बिर्सिएको देखिन्छ ।प्रजातन्त्र स्थापनापछिका बर्षहरुमा काँग्रेसको आफ्नै ओज थियो । आम निर्वाचनमा काँग्रेस दौडको अग्रपंक्तिमा हुन्थ्यो । कार्यकर्ताहरु बीचमा प्रगाढ मेल थियो, एकता थियो, केन्द्रीय नेतृत्वले स्थानीय स्तरको वास्तकिवता बुझेर मात्र आवश्यक निर्देशन दिन्थ्यो । अहिले अवस्था विल्कुल फरक र भिन्न रहेको छ । गुट र उपगुटमा यतिबेला कँग्रेस विभक्त भएको छ । शक्ति र सत्ताकै आडमा आफना कमजोर गुटका व्यक्तिलाई केन्द्रीय स्तरबाटै पद दिलाउन निर्देशन, दबाब दिने काम भएको छ । संगठनमा कहिल्यै सिंको नभाँचेका, नेतृत्वको चाकडी गरेर केन्द्रीय स्तरमा नेता भएका, वडा सदस्यमा जित्ने हैसियत समेत नभएकाहरुको जब नेतृत्वले कुरा सुन्न थाल्छ त्यसबेला तल्लो तहमा बसेर काम गर्ने कार्यकर्ता निरुत्साहित हुन्छन् ।
अहिले यही प्रवृत्तिले गाँजेको छ । तल्लो तहको जनमत नबुझी कहिले एउटा गुटमा हिँडेका, अर्को गुटको मानमर्दनमा लागेका, लाभको पदमा मात्र आसिन हुन लालायित स्वार्थ समूहकै संरक्षणमा नेतृत्व पंक्ति उभिने हो भने यसले पक्कै पछि गएर सुखद् परिणाम दिँदैन । हुन त काँग्रेसमा कार्यकर्ता मुल्यांकनको कुनै मापदण्ड नै छैन । जबसम्म पार्टीमा कार्यकर्ता मुल्यांकनको सही मापदण्ड बन्दैन तवसम्म पार्टीले ऊर्जा प्राप्त गर्न सक्दैन । १४ औं महाधिवशेन यही रवैयाले एउटा समूहले नेतृत्वमा कब्जा त जमाउँला तर आम निर्वाचनमा प्रत्युत्पादक परिणाम नै हात लागि हुनेछ । कसैलाई पटक पटक लाभको पद प्राप्त हुने कसैलाई निमिट्यान्न बनाउने कुसँस्कृति नेपाली काँग्रेसमा जुन पछिल्लो समय मौलाउँदै गएको छ त्यसले भोलिका दिनमा कस्तो आशा गर्ने ? मेरो मान्छे हाम्रो मान्छे भन्दा पनि
अहोरात्र ग्रासरुटमा काम गर्नेहरुको खोजी अब काँग्रेसले गर्नैपर्छ । आन्तरिक प्रतिष्पर्धामा त नेतृत्वको यस्तो चर्को हैकम र दबाब छ भने आाम निर्वाचनमा वर्तमान नेतृत्व र तिनका नन्दीभृंगीबाट कस्तो अपेक्षा राख्ने ?
