ताप्लेजुङ÷ताप्लेजुङ जिल्लाको चीनसँग सीमा जोडिएको टिप्तला भन्ज्याङसम्मको सडकको ट्रयाक खुल्न अब दुई किमी मात्र बाँकी रहेको छ ।
सीमावर्ती गाउँपालिका फक्तालुङका प्रवक्ता छेतेन शेर्पा लामाले दिनुभएको जानकारी अनुसार अब केही महिनाभित्रमा बाँकी रहेको दुई किमी सडकको ट्रयाक खुलिसक्छ ।
सामरिक दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण मानिएको ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको गणेश चौकबाट टिप्तला भन्ज्याङ सम्मको यो सडकको ट्रयाक गत बर्ष नै खुलिसक्ने थियो तर कोरोना भाइरसको प्रकोप र विस्फोटक पदार्थको अभाव हुँदा कामले गति लिन नसकेको प्रवक्ता लामाले जानकारी दिनुभयो ।

टिप्तला भन्ज्याङदेखि दक्षिण नेपालतर्फ ओलाङचुङगोला सम्मको ३१ किमी सडकको ट्रयाक गत बर्ष खुलिसकेको र साना सवारी साधनहरु समेत सञ्चालनमा आइसकेका छन् । फुङलिङ बजारदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्र्ती नाका टिप्तला भन्ज्याङ सम्मको दूरी १ सय किमी
रहेको छ । यता तमोर करिडोर भएर टिप्तला भन्ज्याङसम्मको दूरी ९० किमी रहेको छ । ओलाङचुङगोलादेखि तलको ९ किमी इलाडाँडासम्म गत बर्ष नै ट्रयाक खुलेको र हाल कडा चट्टाने भीर भएको सुकेपानीमा नेपाली सेनाले चट्टानमा होल बनाएर ब्लाष्टिङको काम गरिरहेको छ ।
प्रवक्ता लामाका अनुसार टिप्तला भन्ज्याङ उत्तर चीनको रियु काउन्टी सहर रहेको छ । ट्रयाक खुलेपछि रियु काउन्टीबाट सिधै झापाको पृथ्वीननगर आउन सकिन्छ । पृथ्वीनगर नेपाल
भारतको सीमावर्ती बजार हो ।
