धनकुटा÷चित्रकलामार्फत पर्यटन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटामा पहिलो पटक मुलुकका चर्चित कलाकारहरुले दुई दिने चित्रकला कार्यशाला सम्पन्न गरेका छन् ।
गत हप्ता मुलुकका चर्चित तीस जना कलाकारहरुले अन द स्पोटमा चित्र कोर्दा धनकुटाका स्थानीयहरुको अवलोकनका लागि उल्लेख्नीय भीड लागेको थियो । हाम्रो वहुमुखी पाठशालाको आयोजनामा इन्टरनेशनल वाटरकलर सोसाइटी (आइ.डब्लु.एस.) का अध्यक्ष एपी गुरुङ, डिवी याम्फू, दिपेन्द्र वनेपालीसँगै धनकुटाका स्थानीय कलाकार, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर लगायतका स्थानका कलाकाराहरुले धनकुटामा भएका साँस्कृतिक सम्पदाहरुलाई हुवहु वाटर कलरमा उतारेका थिए ।

वाटर कलर (जल रंग) मात्र पेन्टिङ भएको कार्यशाला धनकुटाका कलाकार दिलकृष्ण आले, सोभित श्रेष्ठ, सरोज भुजेलको पहलमा पहिलो पटक आयोजना भएको धरानका चित्रकार प्रनोद दत्तले बताउनुभयो । कार्यशालामा बसेर पेन्टिङ गर्नु अगाडि कार्यशाला आयोजनाको स्पोन्सर धनकुटा नगरपालिकाले कलाकारहरुलार्ई धनकुटाका चर्चित स्थानहरुको अवोलकन गराएको थियो । कलाकारहरुका लागि आउने जाने, खाने, बस्ने सबै प्रवन्ध धनकुटा नगरपालिककाले नै गरेको थियो । चित्रकला कार्यशाला आयोजना किन गर्नुभयो ? भन्ने सवालमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ भन्नुहुन्छ पूर्वाञ्चलमा धनकुटाको आफ्नै शाख छ । यहाँका चर्चित मठमन्दिर, प्राकृतिक छटा, धनकुटाको उत्पादन आदिका बारेमा चित्रकलामार्फत पर्यटन र सांस्कृतिक सम्पदाहरुको पवद्र्धन गर्नकै लागि चित्रकला कार्यशालाको आयोजना गरिएको हो ।
