नेपाली कँग्रेसको चौधौ महाधिवेशन नजिकिएसँगै स्थानीय नेताहरुको दौडधूप सुनसरी क्षेत्र नं. १ र प्रदेशसभाको नेतृत्वका आकांक्षीहरु संस्थापन र इतर पक्षमा विभाजित

धरान÷आगामी मंसिर २७–२९ गते काठमाण्डौमा हुने नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन अन्तर्गत यही मंसिर ३ गते हुने प्रदेश सभा र मंसिर ६ गते हुने क्षेत्र नं. १ को निर्वाचन नजिकिएसँगै स्थानीय आकांक्षीहरुको दौडधूप बाक्लिएको छ ।
यतिबेला सुनसरी क्षेत्र नं. १ र प्रदेशसभाको नेतृत्वका आकांक्षीहरु बीचमा मतदाता फकाउन संस्थापन पक्ष र संस्थापन इतर पक्षको रस्साकस्सी नै चलेको छ ।
सुनसरी प्रदेश नं. १ को प्रदेसभा ‘क’ बाट संस्थापन पक्षबाट मदन ढकाललाई यहाँका मतदाताहरुले बलियो उमेद्वारका रुपमा लिएका छन् । पार्टी प्रतिबन्धित अवस्थादेखि नै नेपाली काँग्रेसको पदचापमा निरन्तर हिँड्नु भएका ढकालले यस पटक प्रदेशसभा ‘क’ को नेतृत्व सम्हाल्ने पक्कापक्की जस्तो देखिएको संस्थापन इतर पक्षकै मतदाता बताउँछन् ।


धरानको महेन्द्र वहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ गठन (संस्थापक) गरी नेविसंघलाई सशक्त बनाउनु भएका ढकाललाई काँग्रेसका कार्यकर्ताले कुशल संगठनकर्ताको रुपमा समेत लिने गर्छन् । विगतमा विवाद रहित ढंगले नगर सभापाति, क्षेत्रीय सचिव, जिल्ला सचिव, वडाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएका ढकाल यतिबेला आफनो टिम सहित चुनावी अभियानमा हुनुहुन्छ ।
उता प्रदेशसभा ‘ख’ बाट युवाद्वय मुरारी भट्टराई र अजय राईका बीचमा प्रदेशसभा सभापतिका लागि प्रतिष्पर्धा हुने देखिएको छ । यी दुई आकांक्षीमध्ये भट्टराई अगाडि देखिएको काँग्रेसका मतदाताहरु बताउँछन् । धरान उपमहानगरपालिका वडा नं. १६ लाई कार्यक्षेत्र बनाई संस्थापन इतर पक्षबाट नेपाली काँग्रेसका गतिविधिमा संलग्न रहँदै आएका भट्टराईले यस भन्दा अगाडि क्षेत्रीय सचिवको जिम्मेवारी समेत सम्हालीसक्नु भएको छ । संस्थापन पक्षबाट पदेशसभा ‘ख’ बाट प्रत्यासी बन्नु भएका अजय राईको पार्टीमा विगतमा निरन्तरता नभएकोले कँग्रेसका मतदाताहरुले राईलाई भट्टराईको तुलनामा कमजोर उमेद्वारको रुपमा बुझेका छन् । राईकै गृह वडा वडा नं. १८ का एक क्षेत्रीय प्रतिनिधिले भने विगतको निरन्ततलाई पनि मतदाताहरुले मुल्यांकन गरेका छन् । उनले भने अहिले आंकलन मात्र गर्ने हो, परिणाम त मतदान पछि नै देखिन्छ ।
अर्कोतर्फ मंसिर ६ गते हुने क्षेत्र नं. १ को निर्वाचनमा भने प्रदेशसभा ‘क’ र ‘ख’को भन्दा रोचक हुने देखिएको स्वयम् मतदाताहरु बताउँछन् । क्षेत्र नं. १ को निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ । संस्थापन पक्षबाट क्षेत्रीय सभापतिका लागि पूर्व क्षेत्रीय उपसभापति समेत रहीसक्नु भएका कुशल संगठनकर्ता मानिनु हुने पूर्ण सुवेदी, संस्थापन इतर पक्षबाट सुजेन्द्र तामाङ्ग र न संस्थापन न संस्थापन इतरबाट धरान उपमहानगरपलिकाका प्रमुख समेत रहेका तिलक राई देखिएका छन् । क्षेत्रीय सभापतिका संस्थापक पक्षका प्रत्यासी पूर्ण सुवेदीले प्रत्यासी कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम सहित चुनावी गतिविधिमा सरिक
गराउनु भएको छ । यस्तै संस्थापन इतर पक्षबाट सुजेन्द्र तामाङ्गले समेत प्रत्यासी कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम सहित चुनावी गतिविधिमा सक्रियता देखाएका छन् । तर राईले हालसम्म प्रत्यासी कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाउन सकेका छै्रनन् । सुनसरी क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा अन्य दुई प्रत्यासीहरु भन्दा सुवेदीलाई सभापतिको बलियो उमेद्वारको रुपमा क्षेत्र न. १ का मतदाताहरुले लिएका छन् ।
यहाँ स्मरणीय कुरा के छ भने मंसिर ६ गते हुने सुनसरी क्षेत्र नं. १ को निर्वाचनबाट एक सभापति, दुई सचिव, दुई उपसचिव, सदस्यतर्फ निर्वाचित महिला एक, निर्वाचित अन्य तीन, समानुपातिक आरक्षण ६ सहित निर्वाचित कार्यसमितिमा १५ जनाको हुने छ भने मनोनित १५ को २० प्रतिशत ३ सहित २ महिला र एक अन्य गरी मनोति सहित कुल संख्या १८ र १ मनोनित कोषाध्यक्ष रहने छन् । यसैगरी पदेशसभा ‘क’ मा धरानका वडा नं. १,२,३ ,४,५,६,७,८,९, १०, १२, १३, १४,१५ र १९ रहनेछ । प्रदेशसभा ‘क’ बाट एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव सदस्यतर्फ निर्वाचित महिला एक, निर्वाचित अन्य दुई, मनोनित दुई, एक मनोनित कोषाध्यक्ष रहने व्यवस्था छ । यो संख्या प्रदेशसभा ‘ख’ मा समेत एकै प्रकारको रहने भएको छ ।

तपाईको प्रतिक्रिया