धरान÷नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारतीय स्थल सेनाध्यक्ष एमएस नरवणेको निमन्त्रणमा मंगलबार चारदिने भ्रमणका लागि भारतको नयाँदिल्ली पुग्नु भएको छ ।
नेपाली सेनाका प्रधान सेनापति शर्माले भारत भ्रमणमा रहँदा उच्चस्तरीय भेटवार्ता गर्ने जनाइएको छ । प्रधान सेनापति शर्माले मंगलबार भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँग भेटघाट गर्नुभएको थियो । उहाँले भारतीय वायु सेनाका एयर चिफ मार्सल भिआर चौधरी, जलसेनाका प्रमुख एडमिरल करमविर सिंहसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । स्रोतले दिएको जानकारी अनुसार प्रधान सेनापति शर्माले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भारत भ्रमणमा रहँदा परम्परागत रुपमा प्रदान गरिँदै आएको शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट आज बुधबार सम्मान गर्नुहुने भएको छ । यस भन्दा अगाडि गत बर्ष भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाल भ्रमणका क्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुभएको थियो । नेपाल भारत बीचको सुमधुर सम्बन्धकै कारण नेपालले वि.सं. २०१७ सालदेखि भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीबाट र २०२६ सालदेखि भारतले नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्दै आएका छन् ।
भारतको चारदिने भ्रमणका क्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री डा. एस जयशंकरसँग पनि भेटघाट गर्नुहुने स्रोतले जनाएको छ ।
