भापा (दमक)÷झापा जिल्लाको दमकमा चीनको लगानी १५ अर्ब ७५ करोड रुपैयाँको लागतमा बन्ने विश्वको सबैभन्दा अग्लो बुद्धको मूर्तिसँगै अन्य संरचनाको काम पनि रोखिएको छ ।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्तामा छँदा दमकमा दर्जन भन्दा बढी आयोजनाहरु ल्याएका थिए । दमक नगरपालिका वडा नं. ३ मा विश्वकै सबैभन्दा अग्लो बुद्धको मुर्ति बनाउने ओलीे २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा घोषणा गरेका थिए ।

दमकको हुम्सेदुम्से सामुदायिक वन क्षेत्रमा निर्माण गरिने भनिएको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति सहितका अन्य राष्ट्रिय महत्वका संरचनाहरु हाल विविध कारणले रोकिएको दमक नगरपालिकाका सूचना अधिकृत समिप चुडालले बताउनुभयो । पहिलो पटक प्रधानमन्त्री बनेका ओली करिब एक बर्ष मात्र सत्तामा रहे । त्यसबेला बुद्धको मूर्ति बनाउने घोषणा गरेपनि त्यो घोषणामै सीमित भयो, थप काम अगाडि बढेन चुडालले भन्नुभयो ।
दोस्रो पटक केपी ओली २०७४ मा दुई तिहाई निकट वहुमत सहित प्रधानमन्त्री बनेपछि बुद्धको मूर्ति बनाउने प्रक्रिया अगाडि बढ्यो । त्यसबेला उनले मन्त्री परिषदको बैठकबाट हुम्सेदुम्से सामुदायिक वनको ३० विगाहा जग्गा र स्थानीय सर्वसाधारणले दिएको १० विगाहा जग्गा समेत गरी कुल ४० विगाहा जग्गामा विश्वको सबैभन्दा अग्लो बुद्धको मूर्तिसँगै सोही परिषरमा बुद्ध विश्वविद्यालय, बुद्ध पाठशाला, ध्यान केन्द्र, अतिथिका लागि आवास गृह, चैत्यहरु निर्माण गर्ने प्रक्रिया अगाडि बढेको थियो ।
संसारको सबैभन्दा अग्लो बुद्धको मूर्तिसँगै अन्य संरचना बनाउनुको मुख्य उद्देश्य दमक र लुम्बिनीको बुद्ध सर्किटलाई जोड्नु हो, सूचना अधिकृत चुडालले भन्नुभयो । बुद्धको मूर्ति ४० विगाहा जग्गामा बन्ने योजना हो, दमक नगरपालिकका शव इन्जिनियर कमल दाहालले भन्नुभयो । उहाँले भन्नुभयो शुरुवाती अवस्थामा बुद्धको मूर्ति २६ विगाहा जग्गामा बनाउने योजना थियो तर अन्य संरचनाहरु पनि सोही परिषरमा बन्ने भएपछि ४० विगाहा क्षेत्रफल बनाइएको हो । गत आर्थिक बर्षमा पर्यटन मन्त्रायलले जग्गामा बाउन्ड्री गर्नका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो जुन रकमबाट हाल कम्पाउन्ड बाउन्ड्रीको काम भइरहेको छ । शव इन्जिनियर दाहालले भन्नुभयो विश्वमा बुद्धको थप चिनारी, वाह्य तथा आन्तरिक पर्यटक प्रवद्र्धन हेतु पूर्ण कदको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको हो ।
१५ अर्ब ७५ करोडको लागतमा बन्ने बुद्धको मूतिसँगै अन्य संरचना निर्माणका लागि गत बर्ष १५ सदस्यीय एक चिनियाँ प्राविधिक टोलीसमेत दमक आएको थियो । उक्त टोलीले बुद्धको मूर्ति बन्ने स्थानको अवलोकन, नाप नक्सा समेत गरेको थियो । चिनियाँ प्राविधिक टोली फर्किएपछि दमक नगरपालिकाले वातावरण प्रभाव मुल्यांकन (EIA) र डिपिआर समेत तयार ग¥यो । तर २०७८ आषाढमा केपी ओलीको सत्ताबाट बहिर्गमनसँगै बुद्धको मूर्ति र अन्य संरचना बनाउने काम अगाडि बढ्न सकेके छैन । दमक नगरपालिकाका अर्का एक कर्मचरीले भने अहिले प्रधानमन्त्रीको रुपमा ओली नै भइदिएको भए बुद्धको मूर्ति, विश्व विद्यालय, पाठशाला लगायतका संरचना बनाउन चिनियाँ पक्षसँग एमओइ भइसक्ने थियो र काम अगाडि बढ्ने थियो । बुद्धको पूर्ण कदको मूर्तिसँगै मूर्ति भित्र ५० फिट अग्लो भवन बन्ने डिपिआर तयार गरिएको छ ।
