झापाको दमकमा बन्दै गरेको प्रदेश नं. १ को सबैभन्दा ठूलो सभागृहको काम ९० प्रतिशत पूरा

दमक (झापा)÷झापा जिल्लाको दमकमा बन्दै गरेको प्रदेश नं. १ कै सबैभन्दा ठूलो सभागृहको काम ९० प्रतिशत पूरा भएको छ ।
संघीय सरकारको ३४ करोड रुपैयाँको लागतमा सभागृह निर्माण शुरु भएको हो । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सभागृह निर्माणका लागि संघीय सरकारबाटै बजेट विनियोजनको व्यवस्था भएको थियो ।


दमक नगरपालिका वडा नं. ९ मा बन्दै गरेको सभागृहको दुई वटा ब्लक रहेको छ । पहिलो ब्लाकमा १ हजार ५ सय जना अटाउने क्षमता रहेको छ भने दोस्रो ब्लकमा ३ सय व्यक्ति अट्ने क्षमता रहेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार दमक नगरपालिका वडा नं. ९ मा बन्दै गरेको प्रदेश नं. १ कै सबैभन्दा ठूलो सभागृह सहरी विकास मातहतको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको सहयोगमा बन्दै गरेको हो । उहाँले भन्नुभयो २०२० को डिसेम्बर सम्ममा काम सम्पन्न गर्ने सम्झौता निर्माणमा संलग्न ठेकेदार कम्पनीसँग भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बीच बीचमा कामले निरन्तरता पाउन सकेन । हाल काम तिब्र रुपमा अगाडि बढिरहेको छ । सभागृह निर्माणको जिम्मा डाँफे एमए प्रतिष्ठान कस्ट्रक्सन जेभीले लिएको हो ।
सभागृहको सम्पूर्ण निर्माण यही २०२१ डिसेम्बर सम्ममा सिद्धिने निर्माण कम्पनीले जनाएको छ । निर्माणाधीन सभागृहमा रेष्टरेन्ट, बैठक कक्ष, चेन्जिङ रुम, गार्डेन, पार्किङ रहने ठेकेदार कम्पनीले जनाएको छ । यो सभागृह निर्माणका लागि स्थानीय बासिन्दाले १ विगाहा १२ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया