लखनपुर (झापा)÷पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकासँग जोडिएको कमल गाउँपालिकाको लखनपुरमा बन्ने भनिएको अन्तर्राष्ट्रिय आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माणको सम्भावना टरेको छ ।
वि.सं. २०७२ सालमा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशिल कोइराला प्रधानमन्त्री हुँदा कमल गाउँपालिकाको लखनपरमा अन्तर्राष्ट्रिय आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माणको प्रक्रिया अगाडि बढेको थियो ।
रंगशाला निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरुलाई आवहान गरिए पनि जातजातिको नाममा रंगशाला बनाउने कुरामा उनीहरु उदासीन बने । दातृ निकायहरुको भनाई थियो अन्तर्राष्ट्रिय
रंगशालाको नाम नै उचित भएन । नेपालका कुनै चर्चित स्थानहरुको नाममा रंगशाला निर्माण गर्ने भए आफूहरु सहयोग गर्न तयार रहेको धारणा उनीहरुले राखेका थिए ।

तर वि.स. २०७४ पछि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि रंगशालाको कामलाई अगाडि सारियो । पुन ः अन्तर्राष्ट्रिय दातृ निकायलाई रंगशाला निर्माणका लागि सरकारकातर्फबाट आग्रह गरियो । फेरि पनि अन्तर्राष्ट्रिय दातृ निकायहरुले जात जातिको नाममा रंगशाला निर्माण गर्न नसक्ने जवाफ दिए । त्यसपछि प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय आदिवासी रंगशाला तथा स्मृति पार्कको नाम परिवर्तन गरी तत्कालीन एमालेका महासचिव मदन भण्डारीको नाममा रंगशाला बनाउने निर्णय गरे । तर स्थानीय आदिवासी धिमाल, राजवंशी, सतार, कोचे, मेचे, थारु लगायतले कडा आपत्तिमात्र जनाएनन् भण्डारीको नाममा रंगशाला बनाउनै नदिने चेतावनी दिए । यतिमात्र हैन यसका लागि उनीहरुले आन्दोलनका कार्यक्रमहरु नै सार्वजनिक गरे ।
कमल गाउँपालिकामा धिमाल, राजवंशी, सतार ,कोचे, मेचे, थारुहरुको बाहुल्यता रहेको छ । मदन भण्डारीको नाममा रंगशाला बनाउने सरकारले निर्णय गरेपनि यसका लागि कुनै दातृ निकायहरुले वास्ता गरेनन् । तर चीनले भने मदन भण्डारीका नाममा रंगशाला बनाइदिने बचन दियो । यसका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासाबाट एउटा चिनिया प्राविधिक टोली लखनपुर पुग्यो । चिनियाँ टोलीले रंगशाला बन्ने स्थानको नाप, जाँच, नक्सांकन समेत ग¥यो । तर स्थानीय आदिवासीको आन्दोलनका कारण चिनियाँ टोली फर्कियो हालसम्म फेरि फर्केर आएको छैन । कमल गाउँपालिकाका उपाध्यक्ष वेणुप्रसाद शिवकोटीले भन्नुभयो अब झापाको लखनपुरमा अन्तर्राष्ट्रिय रंगशाला बन्छ भन्ने आशै छैन । रतुवामाई वृक्षरोपणको ४० विगाहा सरकारी जग्गामा रंगशाला निर्माण गर्ने योजना थियो, शिवाकोटीले भन्नुभयो । उहाँले भन्नुभयो रंगशाला बन्ने स्थानमा एउटा बोर्ड राख्ने बाहेक अरु काम केही भएको छैन ।
