जयनगर–कुर्था सीमापार रेलखण्ड नेपाल सरकारलाई हस्तान्तरण

धरान÷भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारत सरकारले कार्तिक ५ गते शुक्रबार एक विशेष समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।


हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेणुकुमारी यादवको सहभागिता रहेको थियो ।
भारत सरकारका तर्फबाट परियोजना कार्यान्वयन निकाय इरकाँन इन्टर नेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो । भारत सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गेज खण्डलाई ब्रोडगेजमा स्पान्तरण गर्ने काम भएको थियो । उक्त ब्रोडग्रेज खण्ड ८ अर्ब ७७ करोड रुपैयामा निर्माण सम्पन्न भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–विजलपुरा–बद्र्रीबास रेलमार्गकै एक हिस्सा हो ।
भारतीय राजदूतावासले एक विज्ञप्तीमार्फत जनाए अनुसार यो रेलखण्ड पहिलो जयनगर र विजुलापुरा बीच न्यारोे रेलमार्गको रुपमा रहेको थियो । जयनगर कुर्था खण्डमा कूल ८ वटा स्टेशन र सव स्टेशन रहेका छन । जसमा जनकपुर ऐतिहासिक महत्वको सहर पनि समावेश रहेको छ । विज्ञप्तीमा भनिएको छ, एकपटक सञ्चालनमा आए लगत्तै यो भारत र नेपाल बीचको पहिलो ब्रोडगेज सीमापार रेलमार्ग हुने छ । यसले दुईदेशबीचको व्यापार र वाणिज्य गतिविधिलाई बढावा दिनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने भएको छ । सीमापार रेल सञ्जाल भारत नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो जसमा जयनगर–विजुलपुरा–बर्दीबास रेलमार्ग र १८.६ किलोमिटर जोगवनी–विराटनगर रेलमार्ग समाविष्ट छन् ।

तपाईको प्रतिक्रिया