खसीबोका पालेरै सुनसरीका दुई परिवारले वार्षिक १ करोड बढीको कारोबार गर्दै आएका छन् ।
उत्पादनले सहजै बजार पाउने र माग समेत बढी आउने भएकाले खसीबाख्रा पालन उनीहरुको राम्रो आम्दानीको श्रोत बनेको हो ।

सुनसरीको कोशी कटान क्षेत्रमा दुई वर्ष अघिबाट थालिएको बोयर गोट फार्ममा तीन महिनाको एउटै पाठी अढाई लाख मूल्यमा बिक्रि हुने गरेको छ । अस्टूेलियाबाट चिम्पाञ्जी जातको बोका र बाख्रा ल्याएर सुरु गरिएको सो फार्मले दुई लटका पाठापाठी बिक्री गरिसकेको छ । फार्मका खसी बाख्रा मासुका लागि भन्दा पनि बिउ र उत्पादनको लागि किसानले प्रयोगमा ल्याउने गरेका छन । एउटा माउ बाख्राले एकै पटकमा तीन वटा सम्म पाठापाठी पाउने भएकाले समेत पालनको लागि पाठीको माग अत्याधिक रहेको फार्म संचालक बताउँछन् ।
बोका समेत ६ देखि ८ लाखमा बिक्रि हुने गरेको बताउने फार्म संचालक माग धान्न नसकेकाले व्यवसाय विस्तारमा जुटेको अन्तराष्ट्रिय बोयर गोट फार्म, कोशी कटान सुनसरीका सञ्चालक बशन्त घिमिरे बताउँछन् ।
यसैगरी कृषि पेशा अंगाल्दै आएको सुनसरीको डुम्राहाकी कोपिला कार्कीको परिवारले समेत पाठापाठी बेचेरै मनग्यै आम्दानी गर्दै आएको छ ।
आठ वर्ष यता निरन्तर सो पेशामा लागेको कार्की परिवारले खसीबाख्रा पालनका लागि घरमै ठुलेमोर कृषि फार्म संचालन गरेको छ ।
उक्त फार्ममा १ सय ५० बढी खसीबाख्रा पालिएका छन् । लोकल तथा बोयर क्रस र जमुनापारी क्रस बाख्रा पालन गर्दै आएको सो परिवार बजारको कुनै समस्या नभएको बताउँछ ।
मासुका लागि खसीको माग अत्याधिक रहेको बताउने फार्म संचालिका कार्की स्थानीय बजारमै उत्पादन खपत हुने गरेको बताउनुहुन्छ ।
