गृहमन्त्रालयद्वारा चेतावनी

धरान÷विगत केही समययता नेपालका सामाजिक सञ्जालहरुमा पोष्ट गरिँदै आएको अराजक गतिविधिलाई लिएर नेपाल सरकार गृहमन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्ता पोष्टहरुमा संलग्न हुनेहरुमाथि कार्वाहीको चेतावनी दिएको छ ।
गृहमन्त्रालयले आइतबार एक विज्ञप्ती प्रकाशितग गरी त्यस्तो चेतावनी दिएको हो । विज्ञप्तीमा भनिएको छ खासगरी छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्श्रृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।


विज्ञप्तीमा अगाडि भनिएको छ नेपाल सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धको गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ । मित्र राष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनैपनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ । मित्र राष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिदै आएको विदितै छ । भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिनेछ । तसर्थ मित्र राष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कार्वाही गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया