धरान÷ यो वर्ष अम्रिसोले बजार भाउ उच्च पाएको छ । धरान कृषि उपज बजारका अनुसार तीनवर्ष यता अम्रिसोले सबै भन्दा बढी बजार भाउ पाएको हो ।
पूर्वी पहाडी जिल्लाका कृषकहरुको मुख्य आयस्रोतको रुपमा रहेको अम्रिसोले यसवर्ष बजार भाउ उच्चपाएको छ । सिजनमा करिब ३ महिनामात्र
कारोबार हुने अम्रिसोले तीन वर्षयता नै यो वर्ष भाउ उच्च पाएको हो । अम्रिसोले भाउ उच्च पाएपछि कृषक तथा व्यापारीहरु दंग परेका छन् । व्यापारी विनोद राईले यस बर्ष अघिल्लो बर्ष भन्दा अम्रिसोको भाउ उच्च
रहेको बताउनुभयो ।
धरान कृषि उपज बजारमा गत आर्थिक वर्षमा ३ हजार ६ सय बढी मेट्रिकटन अर्थात १५ करोड बढीको अम्रिसोको कारोबार भएको थियो । तर, यसवर्ष मंसिरदेखि नै सुरु भएको कारोबार सिजन नसकिदै हालसम्म ३ हजार ५ सय मेट्रिकटन अर्थात ४१ करोड बराबारको कारोबार भइसकेको कृषि उपज बजारले जनाएको छ । यो तथ्यांङकलाई हेर्दा तीनवर्ष यता सबै भन्दा बढी यो वर्ष बढी कारोबार भएको कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
गतवर्ष अम्रिसाको थोक मुल्य प्रतिकेजी७०–८० रुपैयाँसम्म कारोबार भएको थियो भने यसवर्ष प्रतिकेजी १ सय १० रुपैयाँसम्म कारोबार भइरहेको कृषि उपज बजारले जनाएको छ । यसवर्ष ४ हजार ५ सय मेट्रिक टन अर्थात ५६ करोड बराबरको
कारोबार हुने कृषिबजारले आंकलन गरेको छ ।
कृषकहरुले कमलगानी र मेहेनतमा बारीको डिल, डाडा पाखामा खेती गर्न सकिने अम्रिसो कुचो प्रयोजनाको लागि प्रख्यात छ ।
पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङ, उदयपुर, पाचथर लगायतको जिल्लाहरुबाट धरान कृषि उपज बजारमा अम्रिसो भित्रिने गरेको छ भने नेपालका तराईका विभिन्न जिल्लाहरु र छिमेकी मुलक भारतसम्म निर्यात हुने गरेको छ ।
