धरान÷कानूनी रुपमा नभए पनि वैचारिक रुपमा विभाजन भएको सत्तारुढ नेकपाभित्रको माधव–प्रचण्ड समूहले ल्याएको अविश्वासको प्रस्ताव छलेर सत्तामा टिकिरहने मनस्थितिमा प्रदेश नं. १ का ओली पक्षीय मुख्यमन्त्री शेरधन राई देखिएका छन् ।
आन्तरिक किलोचोले सडकमा विस्फोटन हुन आइपुगेको नेकपाको दुई तिहाई वहुमतको प्रदेश नं. १ को सरकार अल्पमतमा परेको छ । पौष १२ गते माधव प्रचण्ड समूहका ३७ जना प्रदेश सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा सोको सामाना गर्ने मुख्यमन्त्री राईले बताएका थिए । माघ ७ गते बोलाइएको संसद वैठक र २५ गते बोलाइएको वैठक ओली पक्षीय सांसदहरुले चल्न नदिएपछि फागुन ९ गतेलाई सभामुख प्रदीप भण्डारीले सूचना टाँस गरी बोलाएका छन । यस अवधिमा राईले ५ जना नेकपाका सांसदहरुलाई आफू पक्षमा पार्न सफल भएपनि वहुमत नपुग्ने र नेपाली काँग्रेसको समर्थन समेत नरहने देखिएपछि राई संसद छलेर सत्तामा टिकिरहने मनस्थितिमा देखिएको नेपाली काँग्रेसका सचेतक केदार कार्कीले बताउनुभयो ।
नेकपा प्रमुख सचेतक बृद्धिकुमार राजभण्डारीका अनुसार फागुन ९ गतेको वैठकमा मुख्य मन्त्री शेरधन राईले निलम्बन गरेका माधव –प्रचण्ड पक्षका १६ जना सांसदलाई प्रवेश गर्न नदिएमात्र वैठक चल्न दिने बताएका छन् । राजभण्डारीको उक्त भनाईप्रति आपत्ति प्रकट गर्दै सांसद इन्द्र आङबुहाङले १६ जना सांसदलाई निलम्बन गर्ने अधिकार मुख्यमन्त्री राईसँग नभएको र सत्ताच्यूत हुने त्रासले संसद बैठक बस्न नदिने मनस्थितिमा राई रहेको बताउनुभयो । यता सभामुख पदीपकुमार भण्डारीको कार्यशैलीप्रति नै आशंका व्यक्त गर्दै आङबुहाङले संसदको नियमित बैठक सत्तापक्षकै अवरोधमा पटक पटक सूचना टाँस गरी स्थगित गर्नु संसदीय मर्यादा विपरीत भएको बताउनुभयो । ओली पक्षीय सांसद बाहेकका सम्पूर्ण सांसदहरुले सभामुख भण्डारीलाई संसद अधिवेशन नियमित गर्न दबाब दिएपछि उनले फागुन ९ गते बैठक जुनसुकै हालतमा चल्ने र अविश्वासको प्रस्ताव टेबल हुने बताउनुभयो ।
