इटहरी÷राजा ज्ञानेन्द्र शाह फागुन अन्तिम साता मित्रराष्ट्र भारत भ्रमणमा जानु हुने भएको छ । गत पौष १२ गते स–परिवार झापास्थित हिमालय टि–स्टेटमा आउनु भएका शाह केही दिन अगाडि काठमाण्डौ गएर पुन ः झापा फर्किसक्नु भएको छ ।
यतिबेला मुलुकमा राजनैतिक संकट गहिरिदै गएको छ । यही मौकामा राजा शाह भारत भ्रमणमा निस्कन लाग्नु भएको हो । शिव सेना नेपालका केन्द्रीय सदस्य सुरज कर्णेलले दिनुभएको जानकारी अनुसार मौसुफ यही फागुन तेस्रो वा चौथो साता स्थलमार्गबाट भारत भ्रमण जाने लगभग पक्का भएको छ । आइतबार झापा आइपग्नु भएका राजा ज्ञानेन्द्रले फागुन ५ गते आज वडामहारानी कोमल राज्य लक्ष्मीदेवीको शुभ जन्मोत्सव मनाउने हुनु भएको छ ।
राजा शाह दमकबाट पानी ट्यांकी हुँदै स्थलमार्गबाट भारत सवारी हुने सुनाउदै कर्णेलले भन्नुभयो मौसुफको यो भ्रमण महत्वपूर्ण हुने छ । भारत भ्रमणमा जानु अगाडि विभिन्न राजनैतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी समाजसेवीहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । धेरले मौसुफको भेटका लागि इच्छा देखाएका छन् । एक महिना अगाडि नै नाम टिपाएको पनि उहाँले बताउनुभयो ।
