धरान÷प्रदेश नं. १ मा सत्ताको चाबीको रुपमा रहेको नेपाली काँग्रेसलाई केपी ओली र माधव–प्रचण्ड मूहले चार मन्त्रालय दिएर आफूहरुलाई सघाउन प्रस्ताव गरेका छन् ।
नेकपाभित्रको आन्तरिक कलहले अनौपचारिक फुटको अवस्थामा रहेको र प्रदेश सरकारविरुद्ध अश्विासको प्रस्ताव दर्ता गरेको माधव–प्रचण्ड समूहले मात्र नभएर ओलीको समर्थनमा रहेका मुख्यमन्त्री शेरधन राईले नेपाली काँग्रेसको साथ खोजेका हुन् । दुवै समूहले प्रदेशमा रहेका सात मन्त्रालयमध्ये मुख्यमन्त्रीमा समर्थन गरे चार मन्त्रालय दिने प्रस्ताव गरेको प्रदेश नं. १ काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले बताउनुभयो ।
नेता कोइरालाका अनुसार उनीहरुमध्ये आन्तरिक मामला, अर्थ र सामाजिक सुरक्षा मन्त्रालयबाहेक अन्य मन्त्रालयको प्रस्ताव गरेको बताउनुभयो । उहाँले भन्नुभयो काँग्रेस अश्विास प्रस्तावको पक्षमा मतदान गर्छ । प्रतिपक्षले ल्याउनुपर्ने अविश्वासको प्रस्ताव सत्ता पक्षबाटै आएकोले पनि प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएपनि सरकारमा जाने नजाने भन्ने सवालमा कुनै निर्णय र छलफल नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । हामी केन्द्रको निर्णय पर्खिएर बसेका छौं, केन्द्रले जे निर्देशन दिन्छ सोही अनुसार गर्छौै । अहिल्यै कसैको प्रस्तावमा सहमति जनाउने अवस्था छैन, नेता कोइरालाले भन्नुभयो ।
