सभा सम्मेलन गर्न निषेधको माग

धरान÷धरानमा व्यवस्थित बस पार्क नहुनु, चार दशक अगाडिको बस पार्क अत्यन्तै साँघुरो हुँदा धरानको भानुचौक सदैव अस्तव्यस्त रहने गर्छ । त्यसमाथि राजनीतिक दल, विभिन्न सामाजिक संघ सस्थाले विरोध गर्ने देखि कुनै पनि कार्यक्रमको छनौट स्थल भानुचौकलाई बनाइने गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, प्रदेश नं. १ समितिले भानुचौकलाई सभा सम्मेलन निषेधित क्षेत्र घोषणा गर्न माग गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्रदेश समितिका संयोजक सरोज श्रेष्ठले धरान उपमहानगरपालिकामा एक ज्ञापनपत्र बुझाउदँै त्यस्तो माग गर्नुभएको हो । उहाँले ज्ञापनपत्रको बोधार्थ धरान उपमहानगर समितिका सबै वडा समितिका कार्यालय, अस्तित्वमा रहेका धरानका सबै राजनैतिक दलका अध्यक्षहरु, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय र सुनसरी उद्योग वाणिज्य संघलाई समेत दिनुभएको छ ।
ज्ञापनपत्रमा भनिएको छ भानुचौकको मुटुमा रहेको बस पार्कको कारण सदैव धरानको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण भई धरानको सौन्दर्यमा नै दख्खल परिरहेको हामी सबैले तीतो अनुभव गरिरहेका छौं । धरान उपमहानगर पालिकाको पहलमा धरान ८ स्थित सुन्दरबस्ती परियोजनामा नयाँ बस पार्क बनाउने प्रक्रिया तथा पहल निरन्तर भएपनि शिलान्यास समेत भइ थाँति रहेको बस पार्कको निर्माण कार्यको विवाद समाधान भई नेपाल सरकारको सहयोगमा डिपिआर समेत तयार भइसकेकोले निर्माण हुनेमा हामी आशावादी छौं । उक्त बस पार्क निर्माण प्रक्रिया यथाशक्य चाँडो गराउन समेत ज्ञापनपत्रमा आग्रह गरिएको छ ।
नयाँ बसपार्क निर्माण नभएसम्म सीमित क्षेत्रफलमा रहेको भानुचौकको बसपार्कबाट सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुका लागि धेरै बर्षदेखि ज्यादै चुनौतिपूर्ण बन्दै गएको छ । हाल दिनप्रतिदिन नयाँ नयाँ प्रकृतिका सवारी साधनहरु अत्याधिक बृद्धि हुनुका साथै भानुचौक भएर जाने कोशी राजमार्ग पनि भएको कारण कोशी पहाडी एवम् अरुण तेस्रो किमाथांकासम्मको ठूला सवारी साधन भानुचौक हुँदै दैनिक आवागमन हुने भएकोले भानुचौकको ट्राफिक व्यवस्थापन थप जटिल एवम् सधै दुर्घटना जोखिम हुने भएकाले हाल आएर देशको अन्यौल राजनैतिक कारणले विभिन्न राजनैतिक दलको सभा, सम्मेलन, सांगीतिक कार्यक्रम, रक्तदान मानुचौकमै हुने हुँदा बसपार्क, ट्राफिक व्यवस्थापन लगायत क्षेत्रलाई पनि सडक, चोक अस्तव्यस्त हुने गरेकोले धरानको भानुचौकमा कार्यक्रम नगर्ने व्यवस्थापनका लागि पहल गरिदिन यातायात व्यवसायी,मजदुरहरुको गुनासो आएकोले भानुचौकबाट बसपार्क नसारेसम्मका लागि बसपार्क तथा गाडी पार्किङ क्षेत्र आसपासमा कुनै पनि किसिमको राजनैतिक सभा, सम्मेलन, सांगीतिक कार्यक्रम, भेला तथा भीडभाड हुने जस्ता कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिदिन ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया