बनेन सप्तरंगी पार्क, केही बनेका संरचना समेत संरक्षणको अभावमा जीर्ण

धरान करिब २ दशक अगाडी निर्माण सुरु भएको सप्तरङ्गी पार्क संरक्षणको अभावमा दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । धरान उपमहानगरपालिका वडा नम्बर १७ स्थित सप्तरङ्गी पार्कमा केही संरचनाहरु बनाइए पनि संरक्षण गर्ने तर्फ उपमहानगरको ध्यान नपुग्दा जिर्ण बन्दै गएको हो । नौं विगाहा क्षेत्रफलमा सप्तरङ्गी पार्क फैलिएको छ । २२ वर्ष अगाडी निर्माण सुरु गरिएको यो पार्क संक्षणको अभावमा अहिले जंगलमा परिणत भएको छ ।
धरान–१७ स्थित रेल्वेचोकदेखि करिब एक किलोमिटर दुरीमा रहेको यो पार्क धरान उपमहानगरपालिकाको गौरबको योजना मध्येको एक हो । २०५५ सालमा पार्क निर्माणको लागि काठमाडौंको विडिआर निर्माण कम्पनीलाई नगरपालिकाले ५ करोडको लागतमा ठेक्का दिएको थियो । करिब ३ करोड खर्च भइसकेको पार्कमा केही संरचनाहरु समेत बनेका छन् । तर, संरक्षणको अभावमा बनेका संरचनाहरु पनि दिनानुदिन जिर्ण बन्दै गइरहेका छन् । लथालिङ भएको यो पार्कको डिपिआर भने अब बन्न लागेको उपमहानगरको योजना शाखाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताउनुभयो ।
तत्कालीन मेयर स्वर्गीय ध्यान बहादुर राईको नेतृत्वमा खोलाको बगरलाई पार्कको रुपमा विकास गर्ने उद्देश्यले काम सुरु गरिएको थियो । पार्कमा स्मारक पार्क, बाल उद्यान, बनभोज स्थल, विभिन्न खेलकुदका गतिविधि गर्ने स्थलको रुपमा महत्वांकांक्षी योजना अगाडी सारिए पनि डिपिआर विना निर्माण कार्य अगाडी बढाउँदा अन्योल सिर्जना भएको धरान १७ का वडा अध्यक्ष सूर्य भट्टराइले बताउनुभयो ।
निर्माणाधीन पार्कको वरीपरी घेराबारा लगाइएपनि संरक्षणको अभावमा पार्क स्थल झाडी जंगल बनेको छ । पार्क परिषरमा निर्माण गरिएका संरचना लथालिङ अवस्थामा देख्न सकिन्छ । गौरबका योजनामा परेको पार्क निर्माणमा सम्बन्धीत पक्षले
गम्भिरता नदेखाएको प्रा.डा. राजेन्द्र शर्माको भनाई छ ।
लामो समयदेखी थातिरहेको पार्कको निर्माण कार्यले अब भने गति पाउने धरान उपमहानगरले जनाएको छ । पार्कको डिपिआर बन्ने अन्तिम चरणमा पुगेको र कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा समेत छलफल जारी रहेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताउनुभयो ।
चुनाबीताका चर्चामा आउने गरेको सप्तरङगी पार्क समयमै निर्माण सम्पन्न नहुनु आफैमा विडम्बना हो । यसबाट उपमहानगरको करोडौं रुपैयाँ रकम बालुमा पानी हाले सरह भएको छ । अब भने यसलाई राजनीतिक एजेण्डा भन्दा पनि धरानको विकासको रुपमा अगाडी सार्दै रमणिय पार्कको रुपमा विकास गर्न सके उपमहानगरको आर्थिक बृद्धि हुने निश्चित देखिन्छ ।

तपाईको प्रतिक्रिया