धरान÷सन्तोषजनक काम गर्न नसकेको भन्दै नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको सहमतिमा तीनवटा प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने सहमति भएको नेकपाको भरपर्दो स्रोतले जानकारी दिएको छ ।
पद धरापमा पर्न लागेको सुइँको पाएपछि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई केन्द्रीय नेतृत्वसँग भेटघाट गरेर फर्किएको एक प्रदेश सांसदले जानकारी दिएका छन् । पछिल्लो पटक नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि विवाद समाधानका लागि महासचिव विष्णृु पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको छ ।
कार्यदल गठन हुनुभन्दा अगाडि नै अध्यक्षद्वय ओली र दाहालबीचमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौड्याल, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईमध्ये तीन जनालाई हँटाएर नयाँ मुख्य मन्त्री बनाउने सहमति भएको स्रोतले जनाएको छ । मुख्यमन्त्री परिवर्तन गर्नुभन्दा अगाडि संघीय मन्त्रिमण्डलमा प्रचण्ड पक्षबाट जनार्जन शर्मा, हरिवोल गजुरेल, पम्फा भुसाल, टोपबहादुर रायमाझीलाई समावेश गर्ने समेत सहमति भएको नेकपाका एक केन्द्रीय नेताले धरान साप्ताहिकलाई बताए ।
