धरान/ मोफसलकै सबैभन्दा ठूलो मानिएको १७ औ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिता आगामी फागुन ७ गतेदेखि हुने भएको छ ।
आयोजक धरान फुटबल क्लबले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सो को बारेमा जानकारी दिएको छ । प्रतियोगिता फागुन १६ गते सम्म सञ्चालन हुने भएको छ ।
आयोजकले दिएको जानकारी अनुसार पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुन लागेको सो प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, एपिएफ क्लब, विभागीय टिम त्रिभुवन आर्मी क्लब, फ्रेण्डस क्लब काठमाण्डौ, कास्की फुटबल संघ, पोखरा, झापा ११, रुपेन्देही ११, जर्ज टेलिग्राफ कलकता, भारत, दुर्गापुर कलकत्ता,
भारत, सिक्किम फुटबल क्लब भारत र धरानका रातो र निलो गरी दुई टिमले सहभागिता जनाउने भएको आयोजक संस्थाका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख ७५ हजार र शिल्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई यमाहा मोटरसाइकल, सर्वोत्कृष्ट गोलकर्तालाई २१ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने भएको छ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५/५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
रेडबुलको प्रायोजन, टुर्वोग
वियर, ताईपाई चाउचाउ, यमाहा मोटरसाइकलको सह प्रयोजनमा हुन लागेको सो खेलको अनुमानित बजेट ५० लाख ५१ हजार लाग्ने आयोजकले जानकारी दिएको छ ।
