धरान÷ कोरोना संक्रमित समुदाय स्तरमै फैलिन थालेको छ ।
आइतबार धरानमा ९ जनालाई कोरोना संक्रमण भएको पाइएपछि धरानमा अझ असुरक्षित बन्दै गएको हो । धरानमा मात्र हालसम्म २४ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
जसमध्ये धरानमा आजै मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन अगाडि धरान १३ का २८ बर्षीय एक युवकलाई कोरोना संक्रमण भएको पाइएपछि उनीसंग सम्पर्कमा रहेकाहरुलाई थप पिसिआर टेष्ट गर्दा ५ जनामा कोरोना संक्रमण भएको पाइएको हो भने ५ जना एन्फा क्वारेन्टाइनमा बसेकाहरुमा पाइएको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान औद्योगिक क्षेत्रको प्रिति भल्व उद्योगमा काम गर्ने २ जना कर्मचारीका परिवारमा संक्रमण देखिएको हो । एक जनाको स्थायी घर विराटनगर र अर्को स्थायी घर जनकपुर हो ।
विराटनगर घर हुने कर्मचारी धरान(१ मा बस्छन् भने जनकपुर घर हुने परिवारसहित धरान ८ मा बस्छन् । जनकपुर घर भएका
कर्मचारीका श्रीमती, छोरी र छोरालार्ई संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख शाहका अनुसार चारजना पुरुष भारतीय गोर्खा सेनामा कार्यरत सैनिकहरु रहेका छन् ।
भारतको मणिपुरबाट साउन १४ गते धरान आएर धरान १७ एन्फा क्वारेनटाइनमा बसेका थिए ।
साउन १५ गते ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा थप नौ जनामा कोरोना पोजिटिभ देखिएको हो । थपिएका संक्रमितसहित धरानमा कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । संक्रमित सबैलाई आइतबारै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसन सेन्टरमा पठाइएको छ ।
सरकारले लकडाउन खोलेसंगै समुदायमै कोरोना देखिन थालेको छ । चिकित्सकहरुले लकडाउन खुले पनि कोरोनाको संक्रमण सर्ने अत्यन्तै बढी सम्भावना हुदाहुदै पनि सर्वसाधारणले आवश्यक सावधानी नअपनाएकै कारण कोरोना पछिल्लो समय समुदाय स्तरमै फैलिएको बताएका छन् ।
