धरान, ३१ जेष्ठ ः ज्येष्ठ नागरिकको सुविधालाई मध्यनजर गरी राष्ट्रिय वाणिज्य बैंक धरान शाखाले धरानका विकट वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
विश्वमै फैलिएको कोरोना भाइरस (कोभिड १९) ले वृद्धबृद्धामा जोखिम बढ्ने र यस्तो महामारीका समयमा बृद्धबृद्धालाई बैंकसम्म जान असहज भएपछि धरान उपमहानगरपालकासंग छलफल गरेर यसरी वडावडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
बैंकले सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्धाबृद्धाले बैकमा आउदा अनावश्यक हैरानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएपछि एक दिनमा २५ जनालाई टोकन दिएर सामाजिक भत्ता वितरण थालेपनि पछिल्लो समय धरानका विकट वडाहरुमै गएर वडा कार्यालयसंग समन्य गरेर यसरी सामाजिक भत्ता वितरण शुरु गरेको हो ।
पहिलो चरणमा धरान उपमहानगरपालिका वडा नं. १४ र ५ मा बैकले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । धरान १४ मा २५ जना र ५ मा ५० जना भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै मास्क र खाजाका लागि सुगर फ्रि विस्कुट निःशुल्क वितरण गरेको छ ।
यसले असक्त बृद्धबृद्धालाई सहज बनाएको महसुस स्वयम् सामाजिक भत्ता लिन गएकाहरुले बताएका छन् । धरान १४ का कृष्ण कोइरालाले सामाजिक सुरक्षा भत्ता वडामै लिन पाउदा बैंकमा भीडभाडमा गएर अनावश्यक हैरँनी व्यहोर्नु नपरेको बताउनुभयो । उहाले अझ सेवाग्राहीको घर घरमा पु¥याइदिने व्यवस्था गरिदिए अझ सहज हुने उहाले बताउनुभयो ।


विगतमा यी दुई वडाका बृद्धबृद्धाहरु बजारसम्म आउदा सवारी साधन लिएर आउनुपर्ने र बैंकमा घण्टौ लाइना बस्नुपर्ने बाध्यता थियो । कोभिड १९ को महामारीलाई लक्ष्ँित गरी वितरण गरिएको भएपनि यसलाई दीर्घकालीन रुपमा वितरण गरिदिन उनीहरुले आग्रह समेत गरेका छन् ।
विगतमा घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित वडाका सचिवहरुले मृत्यु भएका नागरिकको नाममा समेत भत्ता लिएर भ्रष्टाचार गर्ने गरेको भए पनि स्थानीय सरकार आएपछि भने यसलाई व्यवस्थित गरेर उनीहरुलाई सहज रुपमा वितरण गर्ने काम वडाबाटै गरिदिए सहज हुने स्थानीय अग्रज तथा शिक्षाप्रेमी प्रा.डा. राजेन्द्र शर्माले बताउनुभयो ।
यता राष्ट्रिय वाणिज्य बैंक धरानका शाखा प्रबन्धक हरिबाबु आचार्यले कोभिड १९ को सम्भावित महामारीलाई मध्यनजर गरी राष्ट्रिय वाणिज्य बैंकले चरण चरण गरेर सामाजिक भत्ता वितरण गरेको बताउनुभयो । उहाले अहिलेको असहज परिस्थितिमा बृद्धबृद्धालाई भीडभाड नगरी सहज ढंगले वितरण गर्न धरान नगरपालिकासंग छलफल गरेर नगरको ५ वटा वडामा २५ जनाको दरले टोकन वितरण गरेर वितरण कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो ।
वाणिज्य बैंकलाई अनुरोध गरेर अहिलेको विषम परिस्थितिमा सहज रुपमा बृद्धाबृचद्धाले सामाजिक सुरक्षा भत्ता पाउन भन्ने उद्देश्यले वडामै वितरण गर्ने वातावरण मिलाइएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाले अहिलेको अवस्थामा मात्र हैन दीर्घकालीन रुपमा वितरण गर्न नगरपालकासंग छलफल भइरहेको बताउनुभयो ।
कोरोनाको जोखिमबाट बृद्धाबृद्धा तथा अशक्त बढी जोखिममा पर्ने भन्दै राष्ट्रिय वाणिज्य बैंकले स्थानीय सरकारसंग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकोमा सबैले सह्रानीय मानेका छन् । यसलाई दीर्घकालीन रुपमा वितरण गर्ने काम गर्न सके बृद्धबृद्धाले पनि सरकारको अनुभूति गर्न पाउने थिए ।





