वि.सं. २०७२ साल वैसाख १२ गते गएको विनाशकारी भूकम्पले पूर्ण रुपले क्षति पु¥याएका नेपालका ५६ वटा उच्च माध्यामिक विद्यालयको भारत सरकारले पुन ः निर्माण गरी दिने भएको छ ।
गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका पूर्ण रुपले क्षतिग्रस्त विद्यालय भारत सरकारले पुनर्निर्माण गरिदिने भएको हो । यस सम्बन्धी सम्झौतामा भारतीय राजदूतावास र नेपाल सरकारका शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईबीच सोमबार सात बुदे सम्झौता भएको छ ।
नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रमलाई भारत सरकारले विभिन्न चरणमा सहयोग प्रदान गर्दै आएको छ । हाल पुननिर्माण कार्यक्रम अन्तर्गत भारत सरकारले २ अर्ब ९५ करोड ती ५६ वटा विद्यालय पुननिर्माणमा खर्च गर्ने भएको छ । भुकम्प प्रतिरोधी क्षमताका लागि ती विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुननिर्माण हुने भएका छन् । पुननिर्माणमा विद्यालयको पूर्वाधारमा शैक्षिक भवन, कक्षा कोठा, फर्निचर, छात्र तथा छात्राकालागि छुट्टाछुट्टै सरसफाईको सुविधा रहने छन् ।
भुकम्प प्रतिरोधी संरचना पुननिर्माणको क्षेत्रमा भारत सरकारको मातहतमा रहेको प्रमुख संस्था ‘केन्द्रीय भवन अनुसन्धान संस्थान’ रुड्कीले ती विद्यालयहरुको पुननिर्माणका लागि प्राविधिक सहयोग समेत प्रदान गर्ने जनाएको छ । भुकम्प पश्चातको पुननिर्माण परियोजना लगायत नेपालको सामाजिक, आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको सम्झौता हस्ताक्षरमा सहभागी भारतीय राजदूतावासका पदाधिकारीहरुले जनाएका छन् ।
