धरान÷ लगातारको लकडाउनका कारण नियमित औषधि प्रयोग गर्नेहरु पीडामा परेको भन्दै त्यस्ता व्यक्तिलाई लक्षित गरी धरानमा औषधि वितरण गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १४ मा रहेका उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, दम, क्यान्सर र मुटुका विरामीलाई लक्षित गरी वितरण गरिएको हो ।
धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र एक नं. प्रदेशका सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव प्रताप भट्टराईले संयुक्त रुपमा आफ्नै लगानीमा त्यस्ता व्यक्तिहरुलाई औषधि वितरण गरेका हुन् ।

उहाहरुले लकडाउनका कारण औषधि लिन बजारसम्म जान नसकेका तथा असक्तहरुलाई पहिचान गरी आफ्नै लगानीमा २६ घर परिवारका ३३ जनालाई वितरण गरिएको हो ।
औषधि पाएपछि सर्वसाधारण खुशी देखिन्थे । लकडाउनका कारण बजारसम्म औषधि किन्न नपाएको बेला घरमै औषधि ल्याइदिएकोमा उनीहरु दंग थिए । धरान १४ विजयपुरकी धनमाया तामाङले आफू प्रेसरको औषधि नियमित खानुपर्ने भएपनि औषधि सकिएर जान नपाएको बेला घरमै औषधि ल्याइदिएकोमा औषधि दातालाई धन्यवाद दिनुभयो ।
घरघरमा गएर विरामीको लगत निकाली उहाँहरुले घरमै पुगेर औषधि वितरण गर्दा धेरै राहत मिलेको स्थानीय सूर्य पोख्रेलले बताउनुभयो ।
उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, दम, क्यान्सर र मुटुका विरामीलाई रोक प्रतिरोधात्मक क्षमता कम भएकोले कोरोनाको संक्रमणको जोखिम बढी उनीहरुलाई हुने भएकोले पनि घर घरमा पुगेर औषधि वितरण गरिएको सांसदका स्वकीय सचिव प्रताप भट्टराईले बताउनुभयो ।
उहाहरुले औषधि वितरण गर्दा स्वास्थ्यकर्मी पनि संर्गै लानुभएको थियो । त्यहा विरामीको अवस्था चेकजाच गरी औषधि वितरण गर्नुभएको थियो ।अत्यन्तै निम्न आय भएका, ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने समुदायका दीर्घ रोगीलार्ई लक्षित गरी औषधि वितरण गरिएको उहाहरुले बताउनुभयो ।लगातारको लकडाउनका कारण रकम अभावका कारण औषधि खरिद गर्न नसकेका दीर्घ रोग भएका सर्वसाधारणले औषधि वितरणबाट राहत महसुस गरेका थिए । यस्तै अवस्था आइरहे आगामी दिनमा समेत उहाहरुले यी र यस्ता परिवारलाई औषधि वितरण गर्ने समेत बताएका थिए ।
