धरान÷विगतमा मुलुकमा जस्तोसुकै परिस्थिति होस्, जस्तो सुकै अवस्था आहोस्, नेपाल बन्द होस् कि नाकाबन्दी होस् मन्दिरमा भक्तजनहरुले निर्वाध रुपमा पूजाआजा गर्ने गर्दथे । आफ्ना मौलिक चाडहरु एक आपसमा खुसी साट्दै मनाउथे गर्थे । दशै, तिहारमात्र हैन नेपालीहरुको जुनसुकै मौलिक चाड होस् त्यस अवस्थामा खुलेर उनीहरु मन्दिरमा गएर पूजा आजा गर्न कुनै निषेध थिएन ।
तर यस बर्ष भने विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक क्षेत्र लकडाउनको चपेटामा परेको छ । सार्वजनिक स्थलमा भीडभार्ड गर्दा यो भाइरसको संक्रमण फैलिन सक्ने भन्दै नेपाल सरकारले हरेक क्षेत्रमा लकडाउन गरेको हो । यसको प्रभाव शैक्षिक क्षेत्र, सभा सम्मेलन, मठ मन्दिर मात्र हैन नेपालीहरुको मौलिक पर्वमा समेत परेको छ । यस्तै बर्षैपिच्छे धुमधामका साथ मनाइने चैते दशै सर्वसाधारणले खुलेर मनाउन पाएका त छैनन पूजाआजाका लागि मन्दिर प्रवेश गर्न समेत पाएका छैनन् ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाका कारण धरान १४ मा रहेको शक्तिपीठ दन्तकाली मन्दिरमा प्रत्येक बर्ष हुने पूजाआजा नृत्य पूजा बाहेक सर्वसाधारणको लागि यस बर्ष बन्द गरिएको मन्दिरका पूजारी कमल भट्टराईले बताउनुभयो । उहाले वि.सं. १९७८ देखि हालसम्म यसरी मन्दिरमा लकडाउन नै गरेर नित्यपूजा गर्नुपरेको सायदै पहिलो घट्ना भएको बताउनुभयो ।
एक हप्ता भन्दा अगाडि धरान उपमहानगरपालिका, मन्दिर व्यवस्थापन समिति र धरान १४ का बुद्धिजीविहरुको छलफलले मन्दिरमा समेत लकडाउन गरेसंगै चैते दशैका समयमा बर्षैपिच्छे गरिने पूजाआजा यस बर्ष रोकिएको हो ।
दन्तकाली मन्दिरमा विशेष गरेर चारवटा नवरात्र हुने गरे पनि आश्विन शुक्लपक्षमा पर्ने शारदय नवरात्न र चैत्र शुक्लपक्ष्मा पर्ने वासन्तय नवरात्र विशेष रुपमा मनाउन गरिएको छ । त्यसमा पनि चैत्य दशै त्यसमा पनि अष्ठमीका दिन बढी उल्लासका साथ पूजाआजा हुने गरेर मनाउने गरिएका भएपनि लकडाउनका कारण सर्वसाधारणका लागि भने भीडभाडका कारण खुल्ला नगरिएको हो ।
यता धरान १४ विजयपुरका बुद्धिजीवि प्रा्ध्यापक डाक्टर टंक न्यौपानेले यस्तो विषम परिस्थितिमा सबैले आ आफ्न घरमा चैत्रे देशै मनाउनुपर्ने बताउनुभयो । नोबेल कोरोना भाइरसको संंक्रमण विश्वभरि फैलिएको बेला सार्वजनिक स्थलमा भीडभाड गर्नु आफैमा जोखिम भएकोले मन्दिरको नित्यपूजाबाहेक अरु पूजा नगर्दा नै राम्रो हुने बताउनुयो ।
त्यसो त स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपालिकाले समेत सार्वजनिक स्थलहरुमा लकडाउन गरेका कारण यसबर्षको चैते दशै घरघरमा मनाउन सूचना नै जारी गरेको बताएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ वडा समितिका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले कोभिड १९ को जोखिमलाई न्यूनिकरण गर्न यस अघि नै धरान उपमहानगरपालिकाले मन्दिरमासमेत लकडाउन गरेको बताउनुभयो । उहाले लकडाउनका बेला पूजाआजा भन्दा पनि स्वाथ्यलाई ध्यानमा राखेर यस बर्षका चैते देशैमा समेत मन्दिरम पूजाआजा गर्न सर्वसाधारणलाई बन्देज लगाइएको बताउनुभयो ।
