धरान÷आगामी कार्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुवइमा आयोजना हुन लागेको विश्व शारीरिक सुगठन च्याम्पियनशीप प्रतियोगितामा धरानबाट सहभागी हुन लाग्नु भएका अवतार श्रेष्ठलाई सुनसरी जिल्ला शारीरिक सुगठन संघद्वारा शनिवार विदाई गरिएको छ ।
प्रतियोगितामा नेपाल लगायत विश्वका ९० देशबाट शारीरिक सुगठनका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । नेपालबाट उक्त प्रतियोगितामा चार जनाले सहभागीगिता जनाउदैछन् । धरान सुनसरीबाट अवतार श्रेष्ठ, झापाबाट रामबहादुर दहाल, वीरगञ्जबाट मरिचमान लामा, काठमाण्डौबाट सुरेश देवा रहेका छन् । रामबहादुर दहाल र मरिचमान लामा बडी विल्डिङ्गतर्फबाट र अवतार श्रेष्ठ र सुरेश देवा फिजिकल तर्फबाट प्रतियोगितामा सहभागी हुने भएका छन् ।
विदाई समारोहमा सुनसरी जिल्ला खेलकुद समितिका अध्यक्ष सुवास राईले सहभागी हुन लाग्नु भएका अवतार श्रेष्ठलाई बधाई दिँदै धरानले पाएको अवसर प्रति खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो मलाई अत्यन्तै खुशी लागेको छ । धरानले पनि विश्व स्तरीय प्रतियोगितामा सहभागिताको अवसर पाएको छ । पछिल्ला दिनमा खेलकुदका क्षेत्रमा सुनसरीले प्रगति गरेको भन्दै
राइले विगत ६ बर्षदेखि रोकिएको बडी बिल्डिङ्ग प्रतियोगिता सुनसरी जिल्ला
शारीरिक सुगठन संघले सफलतापूर्वक आयोजना गरेको भन्दै संघका अध्यक्ष चन्दन श्रेष्ठ लगायत संघका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनु भएको थियो । उहाँले विश्व स्तरीय प्रतियोगितामा भाग लिन जानु भएका अवतार श्रेष्ठलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।
सुनसरी जिल्ला शारीरिक सुगठन सघ सुनसरीका अध्यक्ष चन्दन श्रेष्ठले अवतार श्रेष्ठको विदाई समारोहमा छोटो समयमा सहभागिता जनाउनु भएका सुगठनका सम्पूर्ण पदाधिकारी, जिल्ला खेलकुद विकास समिति तथा अन्यप्रति धन्यवाद व्यक्त गर्दै दुवइमा अवतार श्रेष्ठले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।
