धरान÷अराध्यदेव सूर्यको उपसना गरी यस बर्षको छठ पर्व सकियो । शनिवार अस्ताउदा सूर्य र आइतबार विहान उदाउदो सूर्यलाई अर्घ दिई छठपर्व मनाइएको छ ।
छठ पर्वको महिमा प्रत्येक बर्ष चुलिदै गएको छ । गत बर्ष भन्दा यस बर्ष धरानमा छैठ पर्व मनाउनेको संख्यामा बृद्धि भएको छ । धरानको सेउती र सर्दु खोलामा छठ पर्व मनाउनेको संख्या अत्याधिक रहेको छ । छठ पर्व समावेशी हुन थालेपछि छठ पर्व समिति नै गठन गरेर व्यवस्थित समेत गर्न थालिएको छ ।
विगतमा तराईमा मात्र मनाउने गरिएको छठ पर्व विस्तारै पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।
विगतमा तराईबासीले मात्र मनाउदै आएका छठ पर्व अहिले पहाडका तेह्रथुम, संखुवासभा, पाचथर, इलाम लगायतका जिल्लामा बसाबास गर्ने सबै जातजातिले समेत मनाउन थालेका छन् ।
धरान १५ की सरस्वती भुजेलले सेउती खोलामा गएर छठ पर्व मनाउन थालेको १२ बर्ष भयो । पछिल्लो समय पहाडी मधेशी समुदाय एकै ठाउमा बसेर छठ पर्व मनाउने परम्पराले सामाजिक सद्भाव बढेको भुजेलको भनाई छ । छठ पर्व मनाउन थालेपछि परिवारमा सुख शान्ति मिलेका कारण बर्षेनी छठ पर्व मनाउन थालेको उहा बताउनुहुन्छ ।
त्यसो त सबैले छठ पर्व मनाएको देखेर परिवारकासाथ पहिलो पटक छठ पर्व मनाउन सेउती खोलामा भेटिनुभएकी धरान ३ की उषा मास्केले नेपालका हरेक चाडपर्व राष्ट्रिय चाडपर्व भएको बताउनुभयो । उहाँले चाडपर्व कुनै जाति विशेष, वर्ग तथा समुदायको पेवा नभएको बताउदै सबै वर्ग, समुदाय, जाति एकै ठाउमा बसेर छठ पर्व मनाउदा आपसी सद्भाव बढेर जाने तर्क राख्नुभयो ।
यी त उदाहरणमात्र हुन् धरानको सेउती र सर्दु खोलामा समिति नै बनाएर खोलालाई बेहुली झै सिंगारिएको थियो । बर्षेनी छठ पर्वको रौनकता थपिएसंगै छठ पर्व मान्नेहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । शनिवार अस्ताउदो सूर्यलाई पूजा गर्ने ्र आइतबार विहान उदाउदो सूर्यलाई पूजा गर्न मधेशी समुदायसंगै एकै ठाउमा पहाडे समुदाय रमाउदै छठ पर्व मनाएको दृश्य ले यो कुरालाई प्रमाणित गरिदिएको छ । एक आपसमा खुसी साटासाट गरेर, अंकमाल गरेर को मधेशी को पहाडी भन्ने भाव नै झुलेर हर्षोल्लासका साथ धरानमा पनि छठ पर्व मनाएका थिए ।
त्यस्तो त छठ पर्व सबै समुदाय, जातजातिको साझा पर्व भएसंगै अहिले सामाजिक सद्भाव झन दरिलो बन्दै गएको छठ पूजा आयोजक समितिका सचिव रौधी साहको भनाई छ । विगतमा तराईमा मात्र सीमित यो पर्व अहिले राजधानी काठमाण्डौमात्र हैन पूर्वी पहाडी जिल्ला तथा हिमालका क्षेत्रहरुमा यो पर्व मनाउन थालिएको उहाको भनाई छ । यसले नेपालीहरुमात्र एक आपसमा आत्मीयता गास्दै सामाजिक सद्भाव दह्रिलो बन्दै गएको बताउनुभयो ।
यसरी सबै चाडपर्व साझा पर्व बन्दै आपसी सद्भाव बढेसंगै स्थानीय सरकारले समेत चासो दिन थालेको छ । यो पर्वले तराई, मधेश र पहाडमा बसोबास गर्ने सर्वसधारणलाई नजिक ल्याएको छ । नेपालका हरेक चाडपर्व राष्ट्रिय रुपमा मान्यता पाउदै जानु सकारात्मक पक्ष हो । विविधताबीच एकताको सन्देश प्रवाह भएको महसुस सबैमा भएको छ ।

