धरान÷धरान, धरान उपमहानगरपालिकाले धरानलाई पर्यटकीय हवको विकास गर्दै पर्यटन भित्र्याउने गुरु योजना अगाडि सारे पनि उपमहानगरपालिकाले नगरसभाबाट ०७६÷०७७ को बजेटमा खासै बजेट छुट्याउन सकेन ।
उपमहानगरपालिकाले १ अर्ब ७७ करोड ९१ लाखको बजेट सार्वजनिक
गरेपनि पर्यटनको विकासका लागि भने १ करोडमात्र छुट्याएको छ । यसले समग्र धरानको पर्यटन विकास हुनेमा धरानेहरु विश्वस्त छैनन् ।
धरानलाई धार्मिक पर्यटन, साहसिक खेल पर्यटन, शैक्षिक पर्यटनको हब बनाउने योजना अगाडि सारे पनि त्यो अनुरुपको बजेट सार्वजनिक हुन नसकेको हो ।
धरान उपमहानगरपालिकालको पर्यटन प्रवद्र्धन समितिले धरान १४ र २० लाई धार्मिक पर्यटन क्षेत्र, वडा नं. २० कै ठूलो खैरैस्थित तारेभीरमा रक क्लाम्बिङ, धरान ४ को सेर्गेमा क्यानोनिङको स्थलगत अध्ययन, धरान २० विष्णुपादुकामा भएको दुईवटा वनझाक्री गुफा, गोर्खा स्मृति पार्क लगायतका धेरै सम्भव्यता बोकेको स्थान भएपनि त्यो अनुरुपको बजेट भने आएको छैन ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले धरानको पर्यटनको विकासको कुरा बर्षौदेखि वृहत रुपमा अगाडि आए पनि त्यो अनुरुपको काम गर्न नसकिएका बताउनुभयो । उहाले विगतमा गुरुयोजना अनुरुप अगाडि बढ्न नसकेकै कारण सोचेजस्तो काम नभएको बताउदै पहिलो नगरसभा वैठकबाट गुरु योजना विना पर्यटनको काम अगाडि बढाउने निर्णय भएको बताउनुभयो । धरानमा
रहेका ऐतिहासिकता बोकेका ठाउँलाई प्रबद्र्धन गदैै धार्मिक क्षेत्रको पूर्वाधार विकास गर्ने उहाले बताउनुभयो ।
तर यी कुरा बजेटमा उल्लेख भने छैनन् । बजेटमा छिमेकी नगरपालिकासंग भगिनी सम्बन्ध विस्तार गर्दै समग्र नगरको विकास गर्न, अन्तरक्रिया गर्ने, नगर सौन्दर्यकरण लगायतमा बजेट छुट्याएको छ भने पूर्वाधार विकासमा कमैमात्र बजेट छुट्याएको आरोप सर्वसाधारणको छ । यस्ता खाले कार्यक्रमले पर्यटन विकास नहुने तर्क धरान १४ का प्रताप भट्राई बताउनुहुन्छ ।
यता धरान उपमहानगरपालिकाका पर्यटन प्रबद्र्धन समितिका सह संयोजक किशोर थुलुङले भने पूर्वाधार विकासंगै प्रचारप्रसारलाई समेत अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाले धरान १४ विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाइएपछि विजयपुरमा रहेका मठ मन्दिरमा के कस्ता धार्मिक पर्यटन आउछन् भन्ने कुरा उपमहानगरपालिकाले रेकर्ड राख्न नसकेको बताउनुभयो ।
उहाले समेत एक करोड बजेटले देखिने खालका काम गर्न नसकिने बताउदै देखिने खालका पर्यटनका कामहरु गर्न अरबौ बजेट छुटिनुपर्ने बताउनुभयो ।
यता धरान १४ का वडाअध्यक्ष एवम पर्यटन प्रवद्र्धन समितिका सदस्य कृष्णप्रसाद भट्टराईले धरानमा रहेका मठमन्दिरलाई विकास समितिमा नलगेसम्म मठ मन्दिरको संरक्षण र विकास हुन नसक्ने बताउनुभयो । उहाँले धार्मिक पर्यटन क्षेत्र विजयपुरलाई बनाउनका लागि भविष्यमा यस क्षेत्रमा होमस्टेको अवधारणा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाले इलाममा जस्तै धरानमा आउने धार्मिक पर्यटकका लागि यहाबाट केही उपचार लग्न सकून भन्ने उद्देश्यले आगामी भदौदेखि विजयपुरमा पेडा उत्पादन गर्ने र ‘विजयपुरको पेडा’को नामले यहा आउने धार्मिक पर्यटनलाई सम्झना दिलाउने खालको काम गर्ने योजना भएको बताउनुभयो ।
समग्र रुपमा हेर्दा धरानलाई धरान उपमहानगरपालिकाले धार्मिक पर्यटन, शाहसिक पर्यटन, शैक्षिक पर्यटनको हव, स्वास्थ्यको क्षेत्रको हव बनाउने योजना अगाडि बढाए पनि बजेट भने पर्याप्त छैन । धरानलाई पर्यटन ग्राम बनाउन प्रदेश सरकारले पनि एक करोड छुट्याएको छ ।
त्यसो त धरान लगायत धरान आसपासमा धेरै धार्मिक मठमन्दिर रहेका छन्, यसलाई धार्मिक सर्केट बनाउने योजना अगाडि सार्ने, शाहसिक खेल जस्तै प्याग्लाइडिङ, जिप फ्लाइङ्ग जस्ता खललाई प्रमोड गर्ने काममात्र गर्न सके धरान उपमहानगरपालिकाले धरानलाई एक नं. प्रदेशको पर्यटकीय हव बनाउने योजनामा सार्थकता पाउनेमा दुई मत छैन । यसका लागि अन्य बजेटजस्तै पर्यटन क्षेत्रमा समेत बजेटमा कन्च्युयाइ नगरी लगानी गर्न सक्नुपर्छ ।
