धरान÷मुख्यमन्त्री कप प्रदेश लिग अन्तर्गत क्षेत्र २ को प्रतियोगिता मंगलबारदेखि धरानमा शुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र १ नम्बर प्रदेश सरकारको व्यावस्थापनमा धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा मंगलबारदेखि शुरु भएको हो । एन्फाले प्रदेश १ को १४ जिल्लामा तीन वटा क्षेत्र विभाजन गरी इलाम, सुनसरीको धरान र उदयपुरलाई क्षेत्र तोकेको छ । जसमा इलाममा ४ जिल्ला, धरानमा ५ जिल्ला र उदयपुरमा ५ जिल्ला सहभागी गराइएको छ । सोही अनुसार क्षेत्र २ को धरानमा असार २२ गतेसम्म चल्ने प्रतियोगिता सुनसरीसहित ५ जिल्लाको सहभागीता रहने जनाइएको छ ।
प्रदेश लिगको लागि अन्य जिल्लाबाट एक–एक वटा क्लवले सहभागीता जनाएपनि सुनसरीबाट धरान फुटबल क्लव र इटहरीको राष्ट्रिय जागृति क्लवले सहभागीता जनाएका छन् । एन्फाका अनुसार अंकका आधारमा ३ वटा क्षेत्र इलाम, धरान र उदयपुरबाट २–२ वटा टिम गरी जम्मा ६ वटा टिमले फेरी असार २५ गते
विराटनगरमा हुने प्रदेश लिगको अन्तिम छनौट प्रतिस्पर्धा गर्नुपर्ने एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राईले बताउनुभयो ।
यसबाट अंकको आधारमा छनौट भएका २ टिमले एन्फा प्रेसिडेण्ट कपमा भाग लिन पाउने एन्फाले जनाएको छ । तर, अन्य प्रदेशबाट लिग विजेता एक–एक टिमले सहभागीता जनाउने पाउने भएको हो । मंगलबारकोे उद्घाटन खेल तेह्रथुम र धनकुटा क्लवबीच प्रतिस्पर्धा भएको थियो । प्रदेश सरकारले मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगितालागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको
छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, बन तथा बातावरणमन्त्री जगदिश प्रशाद कुसियले गर्नुभएको थियो ।
