सीमा स्तम्भको रेखदेख र संरक्षण गर्ने सहमति

धरान/नेपाल–भारत समन्वय बैठकमा दुवै देशले आफ्नो तर्फबाट सीमा स्तम्भको रेखदेख एवं संरक्षण गर्ने सहमति भएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा शनिबार सम्पन्न बैठकले अवैध हातहतियार, लागूऔषधको कारोबार, तस्करी र मानव ओसार पसार कार्य लगायत सीमावर्ती क्षेत्रमा हुने अपराधहरु नियन्त्रणको लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
बैठकमा भारतीय सीमा सुरक्षा बल एसएसवीले तालिम, बन्दोवस्ती र क्षमता विस्तारमा एपीएफलाई सघाउने प्रतिवद्धता जनाएको छ ।
बैठकमा एसएसबीका महानिर्देशक वीडी शर्माले प्रभावकारी समन्वय र सहकार्यका लागि सशस्त्र प्रहरी बलको तर्फबाट भारतको दिल्लीमा एपीएफको समन्वय अधिकृत खटाउनका लागि आग्रह गरेका छन् ।
यसैगरी अपराध नियन्त्रणको लागि एपीएफ र एसएसवी विच आवश्यक समन्वय एवं सूचना आदान प्रदान गरिने सहमति भएको छ । यसका लागि ‘फिल्ड लेवल’ मै सकृयताका साथ दुवै देशले योगदान पुर्‍याउने निर्णय भएको छ ।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक
कोसराज वन्तले नेपाली टोलीको नेतृत्व गरेका थिए भने भारतको तर्फबाट एसएसबीका महानिर्देशक वीडी शर्माले टोलीको नेतृत्व गरेका थिए ।
बैठकमा दुबै देशले सहमतिलाई आगामी दिनमा अझै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धधता जनाइएको छ ।
आगामी दिनमा सहकार्य तथा सूचनाको आदान प्रदान प्रभावकारी बनाउन दुवै देश सहमत भएको एपीएफले जनाएको छ ।
नेपाल–भारत समन्वय बैठक अर्को बर्ष भारतमा हुनेछ ।

तपाईको प्रतिक्रिया