(विविसी) बंगलादेशको निर्वाचन आयोगले प्रधानमन्त्री शेख हसिनाको आवामी लिग पार्टीले आम निर्वाचनमा विजय हासिल गरेको बताएको छ । यो जित सँगै उनी तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।
प्राप्त परिणाम अनुसार सत्तारुढ दलले संसदको तीन सयभन्दा बढी सिटमध्ये २ सय ८७ सिटमा विजय हासिल गरेको छ ।
ताजा निर्वाचनको माग
मुख्य विपक्षी दल न्याश्नल युनिटी फ्रन्टले ६ सिट मात्र जितेको छ । त्यो दलले आइतवार भएको चुनाव नाटक जस्तो र धाँधलीयुक्त भएको भन्दै स्वतन्त्र निकायको अधिनमा ताजा चुनाव हुनु पर्ने माग गरेको छ ।
विपक्षी गठबन्धनका एक नेता कमल होसेनले भने ’झन्डै १ सय जना उम्मेदवारले चुनाव बहिष्कार गरेका छन् । त्यसैले हामी निर्वाचन आयोगलाई नाटक जस्तो मञ्चन गरिएको निर्वाचनको परिणाम रद्द गर्न आग्रह गर्दछौँ ।’
उनले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । तर शेख हसिनाको सरकारले ती आरोप अस्वीकार गरेको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार बंगलादेश निर्वाचन आयोगले देशभरीबाट धाँधलीका आरोपहरू आएको र उसले त्यसबारे अनुसन्धान गर्नेछ ।
सत्तारुढ दल र विपक्षी दलका समर्थकबीच भएका झडपमा कम्तीमा १७ जनाको ज्यान गएको बताइएको छ । शेख हसिनाको सत्तारुढ दल आवामी लिग सन् २००९ देखि बांग्लादेशको सरकारमा छ । विपक्षी दलहरूमध्येको एउटाले उसले भरिएको मत पेटिका प्रयोग गरेको आरोप लगाएको छ । बंगलादेश न्याश्नल पार्टीका प्रवक्ताले मतपरिणाममा अनियमितता भएको आक्षेप लगाएका छन् ।
बीबीसी सम्वाददाताले मतदान केन्द्रहरू खुल्नुपूर्व बन्दरगाह शहर चित्तगंगको मतदान केन्द्रमा मतले भरिएका बाकसहरू देखेका थिए ।
सो विषयमा अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन ।
प्रधानमन्त्री हसिनाले भने विपक्षी दलहरूले एकातिर आरोपहरू लगारहेको र अर्कोतिर आफ्ना दलका नेता र सदस्यहरूमाथि आक्रमण गरिरहेको बताएकी छन् । यसो हुनु देशको दुर्भाग्य भएको उनले शुक्रवार बीबीसीलाई बताएकी थिइन् ।
